काठमाडौं। नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङमाथि सहकारीको रकम अपचलनमा संलग्न भएको भन्दै छानविन गर्न माग गरिएको छ । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करीब १५ करोड रुपैयाँ हिनामिनामा धनराज र उनको श्रीमतीको नाम जोडिएकोले छानविन गरिनुपर्ने बताए ।
‘आफ्नो संस्थाको करीब १५ करोड रकम हिनामिना गरेको दाबीसहित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले माननीय धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध उजुरी दर्ता गराउनुभएको रहेछ । अब म यसबारे छानविन हुन्छ कि हुँदैन ?,’ उनले भने ।
यसअघि रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लाग्दा कांग्रेस सांसदहरूले बेल घेराउ गरेकोतर्फ उनले लक्षित गर्दै गुरुङकोमा बेल घेराउ गर्ने कि नगर्ने भन्दै प्रश्न गरे । गुरुङले सहकारी ठगी लुकाउन श्रीमतीसँग सम्बन्धविच्छेद गरेको कुरा बाहिर ल्याएको उनले बताए ।
संस्थाको महाप्रबन्धक रहेको समयमा धनराजकी श्रीमती ज्योति गुरुङले १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेर फरार भएको संस्थाका अध्यक्ष कुम्भराज गुरुङको आरोप छ । यस विषयमा सहकारी बचत अपचलनबारे छानविन गर्न गठित संसदीय समितिमा पनि छलफल भएको थियो । संस्थाका अध्यक्षसँगको छलफलमा धनराज गुरुङको संलग्नता पुष्टि हुने पर्याप्त आधार नभेटिएको समितिका सभापति सूर्य थापाले बताए ।