काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ ।
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । यी दुवै कम्पनीले एकीकृत कारोबार गर्नेसम्बन्धमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेखी शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेका छन् ।
पछिल्लो व्यवस्थाअनुसार मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने हुन्छ । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन् ।
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-११ बबरमहलमा रहने गरी फागुन १७ गते बुधबारदेखि निर्जीवन बीमा सेवाको एकीकृत कारोबार सञ्चालन हुँदै छ ।
सोही कारण धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाको प्रयोजनका लागि ऐ. निर्देशिकाबमोजिम शेयर कारोबार रोक्का हुने भएको हो ।