तीन दशकअघि ट्राफिक प्रहरीमा प्रवेश गर्दा सीताराम हाछेथुले आफ्नो जीवन सडकसँगै बित्ला भन्ने सोचेकै थिएनन् । अनि जागीरको ३० वर्षे यात्रामा ५४ जोर ट्राफिक पोशाक फटाएर १ सय २९ ओटा मानसम्मान पाउने कल्पना पनि गरेका थिएनन् । त्यसो भए उनी केही नसोची प्रहरी सेवामा प्रवेश गरेका थिए त ? होइन, यातायात प्रणाली व्यवस्थित बनाएर एउटामात्र मानिसको भए पनि जीवन बचाउँछु भन्ने सङ्कल्प चाहिँ त्यति बेलै गरेका थिए । त्यहीँ सङ्कल्पमा रहेर उनले आफ्नो जिम्मेवारी शानसँग पूरा गरे ।
यही मङ्सिर ६ गते हाछेथुले प्रहरी निरीक्षक पदबाट अवकाश पाए । २०४६ पुस १० गते प्रहरी सहायक निरीक्षक (असई) पदबाट उनले ट्राफिक जीवन शुरू गरेका थिए । आफ्नो जीवनको ऊर्जाशील वर्षहरू ट्राफिक प्रहरी भएर सडकमै बिताएका उनले प्रहरी निरीक्षक हुँदा समेत निरन्तर आफ्नो ड्युटी गरिरहे । ‘मलाई सडकमा निस्केर आफ्नो काम गर्न जति आनन्द अन्य केहीमा आउँदैन,’ उनी भन्छन् ‘एउटा भए पनि दुर्घटना कम गरेर सवारी आवागमन सजिलो बनाउन पाए दिन नै सफल भएजस्तो लाग्छ ।’
अवकाशपछिको जीवनबारे उनको कुनै लामो सोचाइ छैन । बरु अब सामान्य मानिसको हैसियतमा ट्राफिक जनचेतना फैलाउने काममा लाग्ने सोचेका छन् । ‘मेरो जीवन ट्राफिक क्षेत्रमै बित्यो,’ आफ्नो योजनाबारे उनी भन्छन्, ‘यसकारण अब यो क्षेत्र छाडेर अरू काम गर्न हुँदैन । बरु नयाँ तरीकाले आम मानिसको हित हुने काम गर्नुपर्छ ।’ यसबाहेक उनी आफूले सेवा अवधिमा हासिल गरेको ज्ञान र भोगेको अनुभव विद्यार्थी एवम् यात्रुलाई बाँड्न चाहन्छन् ।
सानो प्रयासबाटै परिवर्तनको शुरुआत हुने विश्वास राख्ने हाछेथु फेरि पनि कुनै न कुनै रूपमा सडक र सवारीसँगै जोडिने योजनामा छन् । जागीरमा हुँदा वर्षमा २ दिनमात्र बिदा लिने उनलाई खाली हात बस्न कुनै हिसाबले पनि स्वीकार्य छैन । आफ्नो स्थानबाट के गर्न सकिन्छ, त्यसमै दत्तचित्त हुने बानी उनले प्रहरीमा हुँदा सिकेका छन् ।
सेवामा रहँदा १ सय २९ ओटा मानसम्मान एवम् पदक पाएका हाछेथुले यसै वर्ष राष्ट्रपतिको हातबाट ‘प्रबल जनसेवा श्री’ पदक पाएका छन् । योबाहेक उनलाई सिङ्गो ट्राफिक सङ्गठनमा मिलेको सम्मान पनि बारम्बार स्मरण भइरहन्छन् । ‘ट्राफिकको काम नै अपजश आउने भएकाले धेरै तीता क्षणहरूको पनि सामना गरेको छु,’ उनी भन्छन्, ‘यी सबै अनुभवलाई सकारात्मक रूपमा लिएर आफ्नो काममा लागिपर्नु नै मेरो दायित्व हो भन्ने लाग्छ ।’
रोचक पक्ष त के हो भने हाछेथुलाई आम मानिसले सादा पोशाकमा कहिल्यै देखेका छैनन् । बिहान ६ देखि राति ९ बजेसम्म ट्राफिक प्रहरी पोशाक लगाउने उनी आफ्ना हाकिमका अगाडि समेत कहिल्यै सादा पोशाकमा देखिएका छैनन् रे ⁄ भन्छन्, ‘मैले योजना बनाएर भन्दा पनि आफूलाई काममा अभ्यस्त राखेर ट्राफिक ड्रेश लाउने बानी पारेको हुँ । यसैले अवकाशपछि चाहिँ धेरैलाई केही असहज लाग्ला ।’
‘दुर्घटनाको प्रमुख कारण लापरबाही’
ट्राफिक प्रहरी भएर विभिन्न कार्यालयको नेतृत्व सम्हाल्दा हाछेथुले हजारौं दुर्घटना देखेका छन् । आफ्नो लामो अनुभवका आधारमा उनी भन्छन्, ‘सवारी चालकको लापरबाही नै दुर्घटनाको प्रमुख कारण हो ।’ यसबाहेक सरोकारवाला निकायको पनि आफ्नै गल्ती रहेको उनको भनाइ छ । ‘दुर्घटनासँग सडक विभाग, यातायात व्यवस्था कार्यालयलगायत निकायको प्रमुख सरोकार हुन्छ,’ उनी भन्छन् । टिप्परका कारण हुने दुर्घटनाको विषयमा उनी अरूले भन्दा फरक मत राख्छन् । ‘सबैले टिप्परले मोटरसाइकललाई हान्यो भन्छन्,’ यसबारे प्रस्ट्याउँदै उनी भन्छन्, ‘तर मोटरसाइकलले टिप्परलाई हान्यो भनेर कसैले सोच्दैनन् ।’ दुईपाङ्ग्रे सवारी चलाउनेले पनि उत्तिकै सतर्क भएर ट्राफिक नियम मान्नुपर्नेमा उनी जोड दिन्छन् । अनावश्यक ओभरटेक र सानो दूरीमा पनि पस्न खोज्ने बानीले मोटरसाइकल दुर्घटना हुने गरेको उनको अनुभवले बताउँछ ।
यसबाहेक ट्राफिक लाइटको समस्या, जेब्राक्रशिङको अभाव, सडक मर्मतमा ढिलासुस्ती जस्ता कारण अत्यधिक दुर्घटना हुने हाछेथु बताउँछन् । उनका अनुसार राजधानीमा बढेको सवारी चाप नियन्त्रण गर्न नसके दुर्घटना झनै बढ्ने अवस्था आउँछ । यो संवेदनशील विषय भएकाले सरकारले विशेष ध्यान पु¥याउनुपर्नेमा उनको जोड छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.