logo
सिन्धु विकास बैंकले दुई आवको साधारण सभा फागुन २८ मा गर्ने, ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव
सिन्धु विकास बैंकले दुई आवको साधारण सभा फागुन २८ मा गर्ने, ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले दुई आर्थिक वर्ष (आव)को १४औं र १५औं वार्षिक साधारण सभा फागुन २८ गते गर्ने भएको छ । माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल मिराबलमा बिहान ११ बजे साधारण सभा गर्ने जनाएको छ । 

सभाले बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २:१ (प्रत्येक २ शेयरमा १ हकप्रद शेयर) अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्तापूँजी रू. १ अर्ब २० करोड कायम गर्न हकप्रद विक्रीको प्रस्ताव गरेको जनाएको छ । हाल बैंकको चुक्तापूँजी रू. ५५ करोड ७४ लाख छ । 

यस्तै सभाले यस सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने जनाएको छ । 

साथै, गाभ्ने गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने र आवश्यक अन्य प्रक्रिया पूरा गरी सोमा हस्ताक्षर गर्ने, अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

त्यस्तै सभाले आव २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि बैंकले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।  

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.