काठमाडौं । सिटिजन लाइफ इन्स्योेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीको गत आर्थिक वर्ष ०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि नयाँ बोनस दर कायम गरिएको हो । उक्त प्रतिवेदन गत पुस २९ गते स्वीकृत भएको हो ।
कम्पनीले बीमाङ्क रकममा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँ र सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनस दर तोकेको छ ।
यस्तै, सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजन बाल भविश्य योजना (सावधिक) बीमालेख सिटिजन बाल भविश्य योजना प्लस (सावधिक) बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजनामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस दर कम्पनीले कायम गरेको हो ।
यही बोनस दर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि मुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा लागू हुनुका साथै अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनबमोजिम अर्को बोनस दर कायम नभएसम्म लागू हुने जानकारी कम्पनीले दिएको छ ।