काठमाडौं । अत्यधिक मात्रामा नक्कली लाइसेन्सको प्रयोग बढेपछि त्यसको न्यूनीकरणका लागि नेपाल सरकारले सन् २०१५ को डिसेम्बरदेखि स्मार्ट लाइसेन्सको वितरण थालेको थियो । स्मार्ट लाइसेन्सको व्यवस्था शुरू भएको समयमा सबै नयाँ ड्राइभिङ लाइसेन्स स्मार्ट लाइसेन्स हुने र हालका लाइसेन्स वाहकलाई भने नवीकरणको समयमा स्मार्ट लाइसेन्स दिइने बताइएको थियो । तर, ३ वर्ष बितिसक्दा पनि यो कार्यले पूर्णता पाउन सकेको छैन ।
यातायात व्यवस्था विभागले शुरूमा यातायात कार्यालय, बाग्मतीबाट कार्ड छपाइ गर्दै वितरण गरेको थियो । कार्यालयसँग तीनओटा मेशिन थियो । साथै, त्यतिबेला नै लाइसेन्स कार्ड छाप्ने तथा पूर्वाधार निर्माणको काम भारतको मद्रास सेक्युरिटी प्रिण्टर्स कम्पनीले पाएको थियो । सन् २०१६ देखि यातायात व्यवस्था विभागले मात्र कार्ड छाप्दै आएको थियो । तर, मागअनुसार लाइसेन्स वितरण गर्न नसकेपछि अहिले पुनः निजी कम्पनीलाई नै कार्ड छाप्ने अनुमति दिइएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार मालिका इन्कर्पोरेट प्रालिले छपाइ अनुमति पाएको छ । कम्पनीले ४÷५ दिनदेखि परीक्षणका रूपमा स्मार्ट लाइसेन्स कार्ड छापिरहेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । कम्पनीले २० ओटा प्रिण्टरबाट दैनिक ४ हजारदेखि ५ हजार कार्ड छापिरहेको छ । कम्पनीलाई ४५ दिनभित्र ५ लाख स्मार्ट लाइसेन्स कार्ड छाप्ने अनुमति दिइएको छ । कम्पनीले ५ लाख कार्ड छापिसकेपछि लाइसेन्स वितरणमा सहज हुने प्रवक्ता उपाध्यायले बताए । मालिकाले औपचारिक रूपमा छपाइ शुरू गरेको दिनदेखि ४५ दिनभित्र ५ लाख कार्ड छाप्नुपर्नेछ ।
यद्यपि, अहिले विभागले आफै पनि स्मार्ट लाइसेन्स कार्ड छापिरहेको छ । मालिका इन्कर्पोरेटसँग सम्झौता भई कार्ड छाप्ने शुरू गरे पनि प्राविधिक कारणले कार्ड वितरणमा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । विभागले अहिले पनि दैनिक २ हजारदेखि २५ सयसम्म कार्ड छाप्ने गरेको छ ।
१ वर्ष अघिदेखि नयाँ लाइसेन्सका लागि फारम बुझाएका सेवाग्राहीले पनि लाइसेन्स पाउन सकेका छैनन् । यसैगरी ६ महीनाअघि नै ट्रायल पास गरेका चालकले पनि कार्ड पाउन नसकेको गुनासो आइरहेको छ । यसले गर्दा सवारी चालनलाई नै पेशा बनाएकाहरूलाई मर्का परेको छ । हाल देशभर २३ लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जारी गरिएको छ । सरकारले सबै हस्तलिखित अनुमतिपत्रलाई स्मार्ट कार्डमा परिवर्तन गर्ने बताउँदै आए तापनि विविध समस्याले यो घोषणा पूरा हुन सकेको छैन ।
यातायात क्षेत्रमा अहिले विश्वभरि नै स्मार्ट लाइसेन्स कार्डको प्रयोग हुन्छ । सन् १९८७ मा टर्कीले ट्राफिक व्यवस्थापनका लागि पहिलोपटक स्मार्ट लाइसेन्स कार्ड सञ्चालनमा ल्याएको थियो । यसलगत्तै १९९५ मा अर्जेण्टिनामा स्मार्ट लाइसेन्स कार्ड प्रयोग गरिएको थियो । सन् १९९९ मा भारतको गुजरातमा देशमै पहिलोपटक स्मार्ट लाइसेन्स जारी भयो ।
के हो स्मार्ट लाइसेन्स कार्ड ?
स्मार्ट लाइसेन्स कार्ड साधारण परिचयपत्रको साइजमा उपलब्ध चालक अनुमति प्रमाणपत्र हो, जसमा इण्टिग्रेटेड सर्किट जडित हुन्छ । यस कार्डमा भएको इलेक्ट्रोनिक चिपले सवारी चालकको परिचय, हस्ताक्षर र अन्य जानकारी राख्छ । चालकसम्बन्धी सबै सूचना पाउन, चालक परिचयपत्र सक्कली हो÷होइन पत्ता लगाउन, तिर्न बाँकी भएको शुल्कको जानकारी पाउन यो कार्डलाई स्क्यान मात्र गरे पुग्छ ।
स्मार्ट लाइसेन्स कार्डमा हुने सम्पूर्ण तथ्याङ्क विभागको ‘सर्भर र सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहनेछ । कार्ड रिडर मेशिन ट्राफिक प्रहरी र विभागका कर्मचारी दुवैले प्रयोग गर्नेछन् । तर, ट्राफिक प्रहरीसँग स्मार्ट लाइसेन्स पढ्ने स्क्यान मेशिनको पनि अभाव छ । यस कारण स्मार्ट लाइसेन्स प्रयोग गरी कानून मिच्ने चालकको विस्तृत विवरण र दुर्घटनाको पूरा जानकारी ट्राफिक प्रहरीले राख्न सकेको छैन ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.