काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि निष्कासन तथा विक्री खुला गरेको एफपीओमा आवेदन दिने भोलि (कात्तिक २० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो ।
कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता शेयर निष्कासनमा ल्याएको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कात्तिक १९ गते सम्ममा कम्पनीको एफपीओमा ११ लाख २७ हजार १२१ आवेदक मार्फत १ अर्ब ७० करोड ९३ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड ७० लाख ९३ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेको छ ।
कम्पनीको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ । एफपीओ निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ ।