काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५७ दशमलव १२ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले रू. ८ करोड ३० लाख खुद नाफा कमाएकोमा गत आवमा घटेर रू. ३ करोड ५५ लाखमा झरेको छ ।
गत आवमा कम्पनीको खराब कर्जा बढेकाले र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । कम्पनीको सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा ५८ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. १२ करोड १४ लाख रहेकोमा गत आवमा घटेर रू. ५ करोड ७ लाखमा झरेको छ ।
त्यस्तै कम्पनीको निष्क्रिय कर्जा अघिल्लो आवमा ४ दशमलव ५१ प्रतिशत रहेकोमा गत आवमा बढेर रू. १० दशमलव ४८ प्रतिशत पुगेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसा रहेकोमा गत आवमा घटेर ६ रुपैयाँ ३० पैसामा झरेको हो । गत आवमा कम्पनीको लाभांश क्षमता ६ दशमलव २९ प्रतिशत छ ।
चुक्ता पूँजी रू. ५६ करोड ४० लाख रहेको कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रिजर्भमा रू. १३ करोड ९२ लाख र रिटेन्ड अर्निङमा रू. ३ करोड ५४ लाख सञ्चिति छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ३० रुपैयाँ ९७ पैसा छ ।