देशमा नकारात्मकता धेरै बढ्यो । यसलाई तुरुन्त सच्याउन आवश्यक भैसकेको छ । हरेक क्षेत्रमा अपराध बढ्यो भन्ने गुनासा खुब सुनिन्छन् अचेल । सामाजिक अपराध, वित्तीय अपराध, हत्या, हिंसा, चोरी, डकैती, के के मात्र छैन । सहकारी ठग, सरकारी ठग, धर्मका नाममा ठग, राजनीतिका नाममा ठग भए भनेर सर्वत्र सुनिन्छ । यस्तो नकारात्मकता देशको भविष्यका लागि नराम्रो हो । आउनोस् सोच बदलौं ।
हेर्नुस्, अपराध–सपराध, ठगी भन्ने केही हुँदैन, फूलको आँखामा फूलै संसार भने झैं फूलको आँखाले हेर्नुस् त कहाँ छ अपराध ? कहाँ छ ठगी ? कहाँ छन् अपराधी र ठग ? यहाँ त सबै समाजसेवी छन् । जस्तै, प्रहरी जनताका सेवा गर्नका लागि छन् र त उसको नारा पनि छ, ‘प्रहरी मेरो साथी’ । नेता र सरकार पनि सेवा नै गर्नका लागि छन् । अनि जसलाई तपाईं अपराधी र ठग भन्नुहुन्छ, ती पनि जनताको सेवा गर्नैका लागि हुन् । समस्या भए भन्नुस्, समाधान भइहाल्छ । आखिर, अपराध–सपराध भन्ने कुरा मिडियाको टीआरपी र सर्कुलेसनको खेल मात्र हो । विपक्षीहरूले फैलाएको भ्रम हो कि अपराधले जनता दु:खी छन् । जनताका कुरा नगरौं, उनीहरू त भोट दिएर पनि दु:खी छन् ।
साँचो कुरा के हो भने, अपराधलाई विनाकारण बदनाम गरिएको छ । तपाईंहरू शब्दकोशको अर्थमा नजानुस् है ! मुद्रा राक्षस भन्छन् नि, प्रिन्टिङ मिस्टेक हुन सक्छ । अब फेरि शब्दकोशवालाहरू भेटिए भने सच्याउन लगाउनुपर्छ । वास्तवमा अपराध पनि एउटा पेशा हो क्या ! जस्तै, राजनीति पनि एउटा पेशा हो । राजनीति एउटा यस्तो पेशा हो, जहाँ चोरी गर्न सक्नुहुन्छ, दिनदहाडै डकैती गर्न सक्नुहुन्छ, झुठ बोल्न सक्नुहुन्छ, धोखा दिन सक्नुहुन्छ । र, यो सबै गरेर पनि तपाईं समाजमा सम्मानित बाँच्न सक्नुहुन्छ । किनकि, सबैलाई थाहा राजनीति एउटा पेशा हो । त्यस्तै अपराध पनि एउटा पेशा हो । त्यसैले सोच बदलौं र अगाडि बढौं, जसले अपराधलाई नयाँ ढंगले चिन्यो, बाँच्न सिक्यो, उसले विकास गर्यो र त्यो लामो दौडको घोडा हो । जो सोचमा पछाडि पर्यो, ऊ दौडबाट बाहिरियो ।
लोकतन्त्रको नाममा सबैले छाती फुलाउँछन् । तर कहिल्यै सोच्नुभएको छ कि देशमा अपराधीहरू नभए के हुन्छ ? लोकतन्त्रमा चुनाव कसले गराउँछ ? नेताहरू कसको बलमा राजनीतिमा बाजी मार्छन् ? वास्तवमा अपराधीहरू नै त हाम्रो समाजका आधारस्तम्भ हुन् । तिनलाई अपराधी होइन, लोकतन्त्रका सेवक भन्न सिक्नुस् । किनकि तीविना लोकतन्त्र सम्भव छैन । गण्डकी प्रदेशका जनता र नेताले यो कुरा समयमै बुझेर त नाम कहलिएका गुण्डा नाइके भनिएकालाई सात सातपटक मन्त्री नै बनाएका थिए ।
देशमा सबै जनाले आआफ्नो क्षेत्रबाट जनताकै लागि त पाप–पुण्य केही नहेरी सेवा गरिरहेका छन् । अपराधी भनिएकाहरूले पनि त्यसरी नै गरिरहेका छन् । उनीहरूले पनि कुनै नयाँ काम गरिरहेका छैनन् । तर तरीका अलि फरक होला । ठीकै छ त । उद्देश्य त एउटै छ, समाज सेवा, देश सेवा । सबैको काम गर्ने आआफ्नै तरीका हुन्छ नि त । देख्नुभएन प्रधानमन्त्रीले अध्यादेशमार्फत कसरी शासन चलाइरहनु भएको छ ? यो प्रधानमन्त्रीको आफ्नो शैलीको कुरा हो । शैली त सबैको आआफ्नै हुन्छ नि काम गर्ने ।
जस्तै, तपाईंले कहिल्यै कुनै आधुनिक र ठूला भनिएका अस्पताललाई सोध्नुभएको छ, ‘अरे, यत्रो धेरै बिल कुन लुटको हिस्सा हो ?’ कुनै स्कुलवालालाई सोध्नुभएको छ, ‘मोटो शुल्क लिएपछि पनि किताब–कपडा–जुत्ता–मोजाका नाममा हामीलाई किन चाटिरहेका छौं ?’ सोध्नुहुन्न, किनकि तिनले सेवा गरेका छन् ।
तपाईं शपिङ मल जानुहुन्छ । एउटा फ्रेस जुस चार सय, पाँच सय रुपियाँ तिरेर पिउँदा चुपचाप सहनुहुन्छ । त्यसबेला त केही भन्नुहुन्न कि किन यति महँगो भनेर । किनकि तिनले सेवा गरिरहेका छन् । तर तपाईंले भन्ने गरेका अपराधीहरूले अलि अलि हप्ता मागे भन्ने बित्तिकै कानमा अरिँगालले टोकेजस्तै किन हुन्छ तपाईंलाई ?
अब सोच्नुस्, मानौं कुनै अपराधी गुण्डाले तपाईंको खुट्टा भाँचिदियो भने उसको केही बिग्रिन्छ र ? वा सरकार वा देशको केही बिग्रिन्छ ? तपाईंकी श्रीमती र छोराछोरीबाहेक अरू कसैले नोटिस गर्छ वा वास्ता गर्छ ? गर्दैन नि । अनि तपाईं अस्पताल जानुहुनेछ र पैसा तिर्नुहुनेछ, होइन ? अहिले त गुण्डा र अपराधीले तपाईंको खुट्टा भाँचिरहेका छैनन् नि । बरु तपाईंका दुई–चार लाख जोगाइदिएका छन् । अनि उनीहरूले मागेका त हप्ताको केवल केही हजार रुपियाँ न होला । केही हजारले तपाईंलाई गाह्रोपर्यो ?
तपाईंले बीमा गराउनु भएको छ नि, होइन ? सोच्छौं बीमाले पैसा दिन्छ, तर दिँदैन नि । किनकि बीमाले त बिरामीको उपचारको पैसा दिन्छ, दुर्घटनाको पैसा दिन्छ । तर बीमावालाहरूले सुघटनालाई पैसा दिँदैनन् । र, समाजले ठानेको अपराध कर्मलाई पनि पैसा दिँदैनन् । तर कसले बुझाउने कि अपराधी भनिएकाहरूले तपाईंलाई दु:ख दिएका होइनन्, बरु अर्थतन्त्रमा योगदान चैं दिइरहेका हुन् ।
सरकारले तपाईंसँग कानून बनाएरै अनेकखाले करहरू उठाइरहेकै छ । करको दर हैन, दायरा बढाउने प्रगतिशील करविज्ञहरूले कोक्रोदेखि कात्रोसम्म सबै क्षेत्रमा कर तिर्नैपर्ने थिति बसालेका छन् । कहीँ छ यो संसारमा यस्तो गरीबमुखी कर नीति ? तपाईं जन्मिएकोमा प्रमाणपत्र दर्ता गर भन्छ र कर लिन्छ, तपाईंले विवाह गर्नुभयो भने पनि कर लिन्छ, राज्यले तपाईंलाई ३–४ थरी परिचयपत्र बना भन्छ र त्यसबाट पनि कर असुल्छ । अझ तपाईंको मृत्युपछि पनि मृत्युको प्रमाणपत्रबापत पनि कानूनअनुसारै कर असुल्छ । कोही कर त विनाकानून पनि उठाउन पाउनुपर्यो नि ।
त्यसैले गैरसरकारी मानिसले उठाएका हप्तालाई कर ठान्नुस् न । भैगो त । किन उनीहरूलाई गुण्डा र अपराधी करार गर्नुहुन्छ ? सरकारले उठाउने करबापत उसले हरेक वर्ष बजेटमै लेखेर दिने भनेका सुविधा तपाईंलाई दिन्छ ? दिँदैन नि । त्यसरी हेर्दा सरकार पनि त एक प्रकारको लुटेरा नै हो । तर तपाईंले के गर्न सक्नुहुन्छ ? सक्नुहुन्न नि । अनि सरकारलाई तपाईंले सित्तैमा पैसा दिन हुन्छ भने अपराधी भनिएकाहरूलाई अलि अलि पैसा दिँदा के नै बिग्रन्छ र ? फेरि यहाँ को अपराधी र को सज्जन कसले छुट्ट्याउने ?
अहिलेको युगमा अपराध हाम्रो परम्परा हो । हाम्रो संस्कृतिको एउटा हिस्सा हो । यसले सामाजिक सन्तुलन कायम राख्छ । मानिशहरू रिपोर्ट लेखाउन प्रहरी थानामा जान्छन् । लेखाउनु पनि पर्छ । यसले चर्चामा ल्याउँछ । अपराध रिपोर्ट गर्दा अपराधीहरूको फोटो अखबारमा छापिन्छ । सेवकहरू जनतामाझ परिचित हुन्छन् । अनि एउटा महत्त्वपूर्ण सन्देश जान्छ, जनतामा ‘सोच बदलौं र अगाडि बढौं ।’ अरू सबै अघि बढिसके, तपाईं मात्रै किन पछि परेको ?