काठमाडौं । सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुन: पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेका लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
मंगलवारदेखि रुपन्देहीमा उनको बयान लिइएको थियो । जसमा उनले आफू सहकारी ठगी प्रकरणमा संलग्न नभएको दाबी गरेका छन् । उनका अनुसार गोरखा मिडियामा सहकारीको रकम आएको विषयमा जीबी राईलाई मात्रै थाहा भएको बताउँदै आएका छन् ।
संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार, सुप्रिम बचत तथा ऋण सहकारीबाट १४ करोड २९ लाख गोरखा मिडिया नेटवर्कमा अवैध रूपमा लगिएको उल्लेख छ। त्यसमा १ करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडेको नाममा, र बाँकी अन्य व्यक्तिहरूको नाममा रहेको छ।
कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनलाई यसअघि कात्तिक २ गते काठमाडौंमा पक्राउ गरिएको थियो ।