गण्डकी । कास्की जिल्ला अदालतमा उपस्थित गराइएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतले अनुमति दिएको हो
प्रहरीले लामिछाने सहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
उनिहरूमा अनुसन्धान गरिरहेको प्रहरीले सोमबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
प्रहरीले निजमाथिको अनुसन्धान प्रतिवेदन बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । उनलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।
प्रहरी प्रतिवेदनमा प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।