काठमाडौं । पछिल्ला केही महीनादेखि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक रकमको कारोबार भइरहेको छ । कम्पनीको कारोबारको तथ्याङ्कलाई हेर्दा कारोबार रकम बढ्दो क्रममा रहेको देखिन्छ । माघमा सर्वाधिक रकमको कारोबार गर्ने १० कम्पनीकै कारोबार पुसको तुलनामा बढेको तथ्याङ्क छ ।
माघमा सर्वाधिक रकमको कारोबार भएको एनआरएन इन्फ्रास्टक्चरको ५ अर्ब ३० करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । जुन कारोबार रकम पुसको तुलनामा २ अर्ब ६४ करोड ५९ लाख रुपैयाँले बढी हो । पुसमा यस कम्पनीको २ अर्ब ६६ करोड ३९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
सर्वाधिक रकमको शेयर कारोबार भएको यस कम्पनीको शेयर मूल्य पनि पुसको अन्तिम कारोबार दिनको तुलनामा माघको अन्तिम कारोबार दिनसम्म आइपुग्दा प्रतिकित्ता २८४ रुपैयाँले बढेको छ ।पुस मसान्तसम्म १ हजार १३५ रुपैयाँ रहेको यस कम्पनीको शेयर मूल्य माघ मसान्तसम्म प्रतिकित्ता १ हजार ४१९ कायम भएको हो ।
सर्वाधिक कारोबारसँगै कम्पनीको शेयर मूल्य बढ्नुको पछाडि कम्पनीको शेयर खरीद माग उच्च रहेको बुझ्न सकिन्छ । यस कम्पनीले विगत चार आर्थिक वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । यस वर्ष पनि कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । पहिलो वर्ष कुल ३ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले पछिल्ला तीन आर्थिक वर्षमा भने कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको हो । यो कम्पनी शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारीमा छ ।
हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धक नियुक्त गर्ने काम सम्पन्न गरिसकेको छ । विक्री प्रबन्धकमा कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । निरन्तर लाभांश वितरणपछि पनि हकप्रद शेयर निष्कासन गर्न लागेकाले लगानीकर्ताको आकर्षण यो कम्पनीको शेयरमा देखिएको हो ।
माघमा सर्वाधिक कारोबार हुने १० कम्पनीभित्र एनआरएन इन्फ्रास्टक्चरसँगै नेपाल पुनर्बीमा कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, सिईडिबि होल्डिङस्, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर, हिमालयन रिइन्स्योरेन्स, न्यादी हाइड्रोपावर रिभर फल्स र साहस उर्जा छन् ।
यो सूचीमा जलविद्युत तर्फका ४ कम्पनी छन् । पूँजी वृद्धिका क्रममा रहेका पुनर्बीमातर्फका दुवै कम्पनी सर्वाधिक कारोबार गर्ने १० कम्पनीभित्र परेका छन् । उक्त सूचीमा नेपाल पुनर्बीमा कम्पनी दोस्रो नम्बरमा छ भने हिमालयन रिइन्स्योरेन्स सातौं नम्बरमा छ ।
माघमा नेपाल पुनर्बीमा कम्पनीको ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो भने हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
दुबै कम्पनीको कारोबार रकम पुसको तुलनामा बढेको छ । माघमा नेपाल पुनर्बीमा कम्पनीको ३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीले र हिमालयन रिन्स्योरेन्सको १ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीले कारोबार रकम बढेको हो । पुसमा नेपाल पुनर्बीमा कम्पनीको ३६ करोड ८९ लाख रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको थियो भने हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ५ करोड ९७ लाख रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको थियो ।