काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा योग्य संस्थागत लगानीकर्ताले दिएको आवेदनको बोलपत्रको आवेदन खोलिएको छ । आज अर्थात सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेप्सेका सीइओ कृष्ण बहादुर कार्की र सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु प्रसाद न्यौपाने सहितको उपस्थितमा बोलपत्रहरु खोलिएको हो ।
कम्पनीले मङ्सिर ६ देखि मङ्सिर १० गतेसम्म बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमामा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गरेको हो । यस निष्काशनमा ४१ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता शेयर निष्कासन गरेको थियो । उनीहरुले कुल ३६ लाख १९ हजार १ सय ९० कित्ताको लागि आवेदन दिएका हुन् ।
जसमा कुमारी क्यापिटल र कुमारी क्यापिटलले संचालन गरेका २ वटा म्युचुअल फण्डले सबैभन्दा महँगो मूल्यमा बोलपत्र पेस गरेको छ । कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ताको लागि बोलपत्र पेस गरेका छन् ।
यी ३ वटैले ४०६ रुपैयाँमा बोलपत्र पेश गरेका हुन् । जुन सबैभन्दा महँगो हो । नागरिक लगानी कोषले ४०५ रुपैयाँमा ४ लाख कित्ताको लागि बोलपत्र पेस गरेको छ ।
अधिकांशले ४०१ मा नै बोलपत्र पेश गरेका छन् । यस हिसाबमा ४०१ रुपैयाँ नै कट अफ मूल्य हुने प्रारम्भिक अनुमान गरिएको छ । ४०१ रुपैयाँ कट अफ मूल्य भएमा सर्वसाधारणले ३६१ रुपैयाँमा शेयर पाउने छन् ।
कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ४०१ देखि ६०१.५० रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो । यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।
सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको हो ।
योग्य संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदन कर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँट गर्नुपर्ने ब्यबस्था छ । कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।
सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्कासन गर्नुपर्ने छ । संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँटपछि बाँकी रहेको ३६ लाख कित्ता आईपीओमध्ये ८ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दालाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । शेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।