काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले फागुन २७ देखि चैत ३ गतेसम्म सार्वजनिक निष्कासन गरेको १४ लाख ७६ हजार कित्ता आईपीओ चैत १२ गते बाँडफाँट गरेको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा भएको बाँडफाँटमा १ लाख ४७ हजार ६०० जना आवेदकहरूले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए । यीमध्ये १८ लाख ४८ हजार २९८ जना आवेदकको आवेदन मात्र रितपूर्वक भएको छ । रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये पनि १७ लाखभन्दा बढीको हात खाली भएको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासन तथा बाँडफाँट गरी कम्पनीका कर्मचारी र सामूहिक लगानीकोषमा समेत आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ सर्वसाधारणमा निष्कासन गर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको हो भने ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको हो ।
यो कम्पनी औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । स्थानीय स्रोत र साधानको उपयोग गर्ने गरी यो कम्पनी स्थापना भएको हो । एलोपेथिक तथा आयुर्वेदिक औषधिहरू उत्पादन तथा आयात गरी विक्री वितरण एवम् प्रवर्द्धन गर्ने कार्य २०८० चैतदेखि गर्दै आएको जानकारी कम्पनीले दिएको छ ।
कम्पनी सञ्चित नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी ४ करोड १३ लाख ६ हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा र प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ कायम भएको छ ।