काठमाडौं । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमै शेयर खरीद गर्न पाउने भए पनि विभिन्न कम्पनीको हकप्रद शेयर ती कम्पनीकै लगानीकर्ताले किन्न चासो नदेखाएको देखिएको छ । ती कम्पनीका शेयर निष्कासन तथा विक्री प्रबन्धकहरूका अनुसार मूलत: साधारण शेयरधनीहरूले हकप्रद खरीद गर्न चासो नदेखाएका हुन् ।
दोस्रो बजारमा प्रतिशेयर १ हजार रुपैयाँ हाराहारीमा रहेको एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर १०० रुपैयाँमा पाउँदा पनि तोकिएको मितिमा शेयरधनीले पूर्ण रूपमा नकिन्दा कम्पनीले शेयर खरीद गर्ने म्याद बढाएको छ ।
- हकप्रद खरीद गर्न चासो नदिनेमा सर्वसाधारण शेयरधनी बढी
- तोकिएको मितिमा सबै शेयर नबिकेपछि म्याद थप्दै कम्पनीहरू
- विदेशमा बसोबास र जानकारी अभावले आवेदन कम परेको अनुमान
एनएलजी इन्स्योरेन्सले मङ्सिर ११ देखि पुस १ गतेसम्मका लागि निष्कासनमा ल्याएको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयरमा तोकिएको म्यादभित्र मागबमोजिम आवेदन नपरेपछि १५ दिन म्याद थप गरी पुस १६ गतेसम्म कायम गरेको छ ।
सोमवार यो कम्पनीको दोस्रो बजारमा प्रतिशेयर मूल्य ९१२ रुपैयाँ रहेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार पुस १ गते साँझ ५ बजेसम्म एनएलजी इन्स्योरेन्सले निष्कासन गरेको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद शेयरमध्ये २१ लाख ६० हजार ४६८ कित्ताका लागि आवेदन परेको छ ।
एनएलजी इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्न हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँ कायम हुनेछ । एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले मागबमोजिम आवेदन नपरेपछि अवधि थप गर्नुपरेको बताए ।
कम्पनीको हकप्रदमा सर्वसाधारणतर्फका लगानीकर्ताको आवेदन कम रहेको समेत श्रेष्ठले जानकारी दिए । कतिपय लगानीकर्ता विदेशमा रहेको र कतिपयले सूचना नपाएकाले पनि आवेदन कम परेको अनुमान उनले गरे । शेयरधनीहरूको जानकारीका लागि कम्पनीले बारम्बार सूचना जारी गरे पनि त्यसको प्रभाव कम परेको उनको गुनासो छ । थपिएको मितिसम्म सम्पूर्ण कित्ता हकप्रद शेयरका लागि आवेदन पर्ने श्रेष्ठको अपेक्षा छ ।
त्यस्तै दोस्रो बजारमा प्रतिकित्ता मूल्य १ हजार १८० रुपैयाँ भएको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको पनि हकप्रद शेयर पूरै नबिक्ने सम्भावना देखिएको छ । कम्पनीले मङ्सिर १२ गते २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । आवेदन दिने म्याद पुस २ गतेसम्म छ । सीडीएससीका अनुसार पुस १ गते साँझ ५ बजेसम्म उक्त कम्पनीको ३४ लाख ३८ हजार ४३ कित्ता हकप्रदका लागि मात्र आवेदन परेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सर्वसाधारणतर्फको हकप्रद शेयरमा आवेदन कम रहेको जानकारी दिए । लाइफ इन्स्योरेन्स कर्पोरेशनको सम्बन्धमा संस्थापकतर्फको ७० प्रतिशत हकप्रदमा आवेदन परिसकेको र सर्वसाधारणतर्फको शेयरमा आवेदन कम रहेको उनको भनाइ छ ।
पूँजी वृद्धिकै लागि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पनि हकप्रद शेयर निष्कासन गरिरहेको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । उक्त अनुपातमा कम्पनीले कात्तिक ८ गतेसम्म कायम शेयरधनीका लागि २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हाल लाइफ इन्स्योरेन्स कर्पोरेशनको चुक्तापूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ ।
यीबाहेक दुई जलविद्युत् कम्पनीको हकप्रद शेयर प्राथमिक बजारमा विक्रीमा छन् । लिबर्टी इनर्जीले माथिल्लो दोर्दी ए जलविद्युत् आयोजना, ऋण भुक्तानी र लोदोखोला साना जलविद्युत् आयोजनामा लगानी गर्न ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । लिबर्टी इनर्जीले मङ्सिर १६ गतेदेखि निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर पुस ७ गतेसम्म निष्कासनमै रहनेछ । कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र लिबर्टी इनर्जीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
त्यस्तै बलेफी हाइड्रोपावरले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर मङ्सिर २७ गतेदेखि निष्कासनमा ल्याएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गरेको हो । योग्य आवेदकले पुस १७ गतेसम्म यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । बलेफी हाइड्रोले आयोजना निर्माणका लागि लिएको बैंक ऋण आंशिक रूपमा भुक्तानी, प्रवद्र्धकहरूबाट लिएको ऋण पूर्ण रूपमा भुक्तानी र विभिन्न ठेकेदार तथा विक्रेताहरूको बक्यौता भुक्तानीका लागि हकप्रद निष्कासन गरेको हो । यी शीर्षकमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रकम रहेको समेत कम्पनीले स्पष्ट पारेको छ ।
दोस्रो बजारमा यी सबै कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा बढी छ । पुस १ गतेसम्मको दोस्रो बजार कारोबारमा लिबर्टी इनर्जीको शेयरमूल्य प्रतिकित्ता २०८ रुपैयाँ ९० पैसा र बलेफी हाइड्रोपावरको प्रतिकित्ता ३४२ रुपैयाँ ३० पैसा कायम छ ।