काठमाडौं । व्यवसायीलाई सुन खरीदका लागि सिफारिश गर्दा उनीहरूका प्रतिनिधिमूलक संस्थाले शुल्क असुलिरहेको गुनासो आएपछि राष्ट्र बैंकले त्यसो नगर्न यस्ता संस्थालाई सचेत गराएको छ ।
राष्ट्र बैंकले जारी गरेको ‘सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८’ अनुसार सुन व्यवसायीका प्रतिनिधिमूलक संस्थाको सिफारिशका आधारमा वाणिज्य बैंकहरूले सुन व्यवसायीलाई सुन विक्री गर्ने गरेका छन् । यसरी सिफारिश गर्दा संस्थाहरूले निश्चित शुल्क लिने गरेको संस्थाको नेतृत्व तहले स्वीकार गरेको छ । मंगलवार एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले त्यसरी शुल्क उठाउनु ‘सुन आयात तथा विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८’ विपरीत रहेको उल्लेख गरेको छ ।
‘उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसायसम्बन्धी संघ र महासंघले वाणिज्य बैंकबाट सुन खरीद गर्ने व्यवसायीलाई सिफारिश गर्दा कुनै पनि प्रकारको दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेकाले सुन खरीदका लागि सिफारिश प्रदान गर्ने संघ, महासंघ र सिफारिश लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नु,’ राष्ट्र बैंकले मंगलवार सचेत गराउँदै भनेको छ । नेपालमा वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउँछन् । व्यवसायीले वाणिज्य बैंकबाट किन्नुपर्छ । बैंकबाट सुन किन्न व्यवसायसँग सम्बद्ध संघ वा महासंघको सिफारिश चाहिन्छ । व्यवसायीका अनुसार पाँचओटा संघ/महासंघले आफ्ना सदस्य व्यवसायीलाई सुन सिफारिश गर्दै आएका छन् । संघ र महासंघको सिफारिशकै आधारमा बैंकहरूले व्यवसायीलाई सुन बेचिरहेका छन् ।
हाल नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी रत्न आभूषण महासंघ, नेपाल सुनचाँदी रत्न आभूषण संघ काठमाडौं, नेपाल हस्तकला महासंघ र कला व्यवसायी संघले सुन किन्न सिफारिश दिने गरेका छन् । रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ताले विगतमा आफूले प्रतितोला ६ हजार रुपैयाँका दरले शुल्क तिरेको आर्थिक अभियानलाई बताए । विगतमा प्रतिनिधिमूलक संस्थाको सिफारिशविना पनि सुन पाउनुपर्ने भन्दै उनले कानूनी लडाइँ लडेका थिए । सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेको थियो ।
अर्का एक सुन व्यवसायीले सिफारिशबापत प्रतिकिलो २ हजारदेखि ३ हजार रुपैयाँ शुल्क लिने गरेको बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले महासंघले सुन सिफारिश गर्दा ‘सिफारिश शुल्क’ भनेर रकम लिने नगरेको तर महासंघलाई सहयोगको रूपमा लिने गरेको स्वीकारे ।
वाणिज्य बैंकहरूले दैनिक अधिकतम २० किलोसम्म सुन आयात गरेर व्यवसायीलाई बेच्दै आएका छन् । व्यवसायीका अनुसार सुनको भाउ चर्को बढेकाले अहिले व्यापार शून्यमै झरेको छ । अनावश्यक शुल्कले व्यवसायीलाई आजित बनाउने गरेको छ ।