प्रमुख गतिविधि :
माघ २१ गते बसेको सञ्चालक समितिको बैठबाट कम्पनीले लगानीकर्ताका लागि ५ प्रतिशत बोनस शेयर र कर प्रायोजनका निमित्त शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभापश्चात् सो लाभांश लगानीकर्ताले पाउनेछन् । त्यस्तै, माघ २८ मा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शिवनाथ पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना
- कम्पनीले चालू आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा १ करोड ७८ लाख खुद नोक्सान निकालेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ६२ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
- जगेडा केही बलियो भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १४ करोड १४ लाख रहेको जगेडा यो त्रैमासमा १७ करोड ५३ लाखमा सीमित भएको छ । त्यस्तै, कम्पनीको महाविपत्ति जगेडामा १ करोड ५० लाख रुपैयाँ छ ।
- जीवन बीमाकोष भने ५७ दशमलव ८१ प्रतिशत वृद्धि गरेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
- बीमाशुल्क (खुद) आम्दानी ४६ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
- जारी बीमालेख सङ्ख्या ३ लाख १९ हजार ८ सय ९६ ओटा छ, जुन अघिल्लो त्रैमासको तुलनामा ३८ दशमलव ७२ प्रतिशत धेरै हो ।
- कम्पनीको कुल दाबी भुक्तानी ६ करोड ९४ लाख रुपैयाँ छ भने भुक्तानी हुन बाँकी रकम ६३ लाख ७४ हजार रुपैयाँ छ ।
- कुल दाबी भुक्तानी सङ्ख्या ३ सय ३६ छ ।
- दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी (७ दशमलव ५१ रुपैयाँ), मूल्य आम्दानीको अनुपात (९६ दशमलव ८४ गुणा), प्रतिशेयर नेटवर्थ १ सय ३८ दशमलव शून्य ९ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्ति मूल्य ५ सय ४३ दशमलव शून्य ६ रुपैयाँ छ ।
निष्कर्ष :
कम्पनीको वित्तीय अवस्था नकारात्मक क्षेत्रमा प्रवेश गरेको छ । आर्थिक वर्ष ७३÷७४को दोस्रो त्रैमाससम्म आउँदा कम्पनी घाटामा गएको छ । कम्पनीले राम्रो लाभांश खुवाउन नसकेको अवस्थामा केही समयअघि दिएको २५ प्रतिशत हकप्रद शेयरले कम्पनीको प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न थप चुनौती थपिने देखिन्छ । कम्पनीबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउन केही ठूलो चमत्कार हुनुपर्ने देखिन्छ ।
प्राविधिक विश्लेषण : बजार सकारात्मक हुँदै
प्रतिरोध २ : ८३४ । प्रतिरोध १ : ७३० । टेवा १ : ५५० । टेवा २ : ४३२ । हालको अन्तिम मूल्य : ६८९
बजारको अवस्था
यस कम्पनीको २१ मार्च, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा लगभग २ महीनादेखि प्रवृत्तिहीन देखिएको बजार २ दिन अघिदेखिको कारोबारमा सकारात्मक सङ्केतहरू देखिएका छन् । १ फेब्रुअरी, २०१७ मा ६ सय २२ मा कारोबार भएको थियो । हाल कम्पनीको मूल्य ६ सय ८९ मा अन्तिम कारोबार भएको छ । यो अघिल्लो दिनको कारोबारभन्दा ३५ रुपैयाँ अर्थात् ५ दशमलव ३५ प्रतिशत बढी हो । परिमाण २७ हजार ६ सय २० छ भने यो अघिल्लो दिनको भन्दा ८ हजार ८ सय २६ कित्ता बढी हो ।
मूल्यको प्रवृत्ति विश्लेषण
विगत ५ हप्तादेखि मूल्य प्रवृत्तिले एसेण्डिङ त्रिकोण आकार बनाएको देखिन्छ । अघिल्लो दिनको कारोबार यो त्रिकोणको माथिल्लो प्रवृत्ति रेखा तोड्न सफल भएको छ । यसले बजार सकारात्मक हुन सक्ने सङ्केत गर्दछ ।
अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए.) : ६ दिनको ईएमएले २१ दिनको ईएमएलाई तलबाट माथितर्फ छिचोलेको देखिन्छ । यसले बजारमा आपूर्तिभन्दा माग बढी हुन थालेको सङ्केत गर्दछ ।
रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ६८ अङकमा रहेको छ । यस सूचकको प्रवृत्ति हेर्दा सकारात्मक देखिएको छ ।
म्याकडी : सिग्नल रेखालाई म्याकडी रेखाले १ महीनाअघि माथितर्फ छिचोल्न सफल भएबापत बजार नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रतर्फ बढेको देखिएको र २ दिनअघिको कारोबारदेखि म्याकडी रेखाले केन्द्ररेखालाई माथितर्फ तोडिरहेको अवस्था देखिन्छ ।
मैनबत्ती : अन्तिम कारोबारको मैनबत्तीले ह्यागिङ म्यान आकार बनाएको देखिन्छ । यसले बजारमा क्रेताको चाप कम हुन सक्ने सङ्केत गर्दछ । तर, यो आकारको सङ्केतअनुसार निर्णय गर्नुअघि अर्को कारोबार दिनको मैनबत्ती आकार पनि विश्लेषण गर्नुपर्ने हुन्छ ।
निष्कर्ष :
हालसम्मको मूल्य प्रवृत्ति, प्रवृत्तिको आकार र उल्लिखित प्राविधिक सूचकको आधारमा बजार विश्लेषण गर्दा, बजार सकारात्मक देखिन थालेको छ । यदि मूल्य त्रिकोण आकारको माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने सङ्केत गर्दछ । यस कम्पनीको कारोबार गर्नुअघि आफै मनन गर्नुपर्ने हुन्छ ।