काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि सोमवार हुँदै छ । दुवै कम्पनीहरूले मर्जर प्रस्ताव पारितका लागि साधारण सभा आह्वान गरेका हुन् ।
सूर्या लाइफको १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगर बस्दै छ भने ज्योति लाइफको पाँचौं वार्षिक साधारण सभा वाटरफ्रन्ट रिसोर्ट पोखरामा हुँदै छ ।
सूर्या लाइफले बिहान ९ बजे र ज्योति लाइफले बिहान ११ बजे सभा शुरू गर्नेछन् । यी दुई कम्पनी एक बराबर शून्य दशमलव ८२ कित्ता शेयर आदनप्रदान गर्दै मर्जरमा जान लागेका हुन् ।
सूर्या लाइफ इन्स्योरेन्सको एक कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता शेयर कायम हुनेछ । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापूँजी रू. २ अर्ब ५५ करोड र ज्योति लाइफ इन्स्योरेन्सको चुक्तापूँजी रू. २ अर्ब ४२ करोड रहेको छ । मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई दुवै कम्पनीको सभाले पारित गर्नेछन् ।
मर्जरपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू गर्ने प्रस्तावलाई समेत सभाले पारित गर्नेछन् । मर्जरपछि कम्पनीको रजिष्ट्रर्ड कार्यालय ज्ञानेश्वर, काठमाडौंमा रहनेछ । दुवै कम्पनीको सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत पारित गर्नेछ ।