काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १३३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ९ करोड २२ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २१ करोड ५२ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा १२५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १२ करोड २४ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २७ करोड ५८ लाख पुगेको हो ।
त्यस्तै कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४२ करोड छ भने जगेडामा रू. १ अर्ब ३ करोड सञ्चित गरेको छ। चालू आवमा कम्पनीको जीवन बीमा कोषमा रू. ७ अर्ब ४ करोडभन्दा बढी जम्मा भएको छ । सो अवधिमा कम्पनीले रू. ९४ करोड ४६ लाख बीमाशुल्क आर्जन गरेको छ । यो शुल्क गत आवको पहिलो त्रैमासको तुलनामा १५ प्रतिशत बढी हो । कम्पनीले सो अवधिमा रू. ८१ करोड ७८ लाख बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी रू.३५ दशमलव ३९ (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ३२ छ । ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सबीच मर्जर हुँदैछ ।