काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६१ हजार ८०५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर प्रतिकित्ता २९४ रुपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यसअघि यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी कम्पनीले विक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीमा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागिएको हो ।
इच्छुक खरीदकर्ताले जेठ १३ गतेभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यी शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको १४ दशमलव शून्य ७७ प्रतिशत लाभांशसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।