काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासनको तयारी गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ निष्कासनको तयारी गरेको हो । साउन ३ गते एफपीओ निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
विक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट समेत एफपीओ निष्कासनका लागि अनुमति पाइसकेको कम्पनीले अब नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ । विक्री प्रबन्धकको समन्वयमा कम्पनीले बोर्डको अनुमतिको लागि आवश्यक कार्य अघि बढाउने बताएको छ ।
कम्पनीले हाल कायम संस्थापकतर्फको ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणतर्फको २९ दशमलव ६४ प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गर्न लागेको हो ।
पूँजी संरचना परिवर्तन र एफपीओ निष्कासनसम्बन्धी प्रस्ताव कम्पनीको वैशाख ३० गते सम्पन्न ११औं वार्षिक साधारण सभाबाट पारित भइसकेको छ । आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीको चुक्ता पूँजी ९१ करोड ८२ हजार कायम भएको छ ।