जेठ १७, प्यूठान । निषेधाज्ञाकै बीच प्यूठानका किसान कृषिकर्म गर्न व्यस्त छन् । प्यूठानका अधिकांश किसानहरुलाई मकै लगाउन, गोडमेल गर्न तथा धान रोप्न भ्याइनभ्याइ छ । यो समय मानो रोपेर मुरी फलाउने समय हो ।
यतिबेला प्यूठानको झिमरुक फाँटमा किसानहरु असारे गित गाउँदै धान रोप्न तथा आली लगाउदै गरेको देख्न सकिन्छ । यो वर्ष समयमै पानी परेको तथा सिँचाइ सुविधा भएका कारण वैशाखमै रोपाइ गर्न पाएको किसानहरु बताउँछन् ।
अहिले कोरोना भाइरसको दास्रो लहर आएपनि स्वास्थय सावधानी अपनाएर कृषि काम गरिरहेको प्यूठान नगरपालिका ९ का गोबिन्द बहादुर केसीले बताए ।
‘यस फाँटमा बाह्रै महीना सिँचाइ सुविधा छ जसले गर्दा समयमै रोपाइ हुन्छ’ उनले भने, ‘गत वर्षजस्तै यसवर्ष पनि कोरोनाको महामारी भएका कारण घरपरिवार र छिमेकीले मात्रै काम गरेका छौँ ।’ विगतका वर्षमा गित गाउँदै, हिलो छ्याप्दै रमाइलो गर्दै रोपाइ गरेपनि गत वर्षबाट परिवारमात्रै सीमित भएर रोपाइ गरेको उनी बताउँछन् ।
जिल्लाको मल्लरानी, ऐरावती, झिमरुक, माण्डवी गाउँपालिका र प्यूठान नगरपालिकाका विभिन्न वडाहरुमा धान खेती गरीन्छ । यहाँ वैैसाखको अन्तिमबाटै रोपाइ शुरु हुन्छ । अहिले प्यूठान नगरपालिकाको बिजुवार, जुम्रि, बाग्दुला, बिजयनगर, खैरा, मरन्ठाना, धर्मावती, मल्लरानीको चुजांठाटि, ऐरावतीको बरौला, माण्डवीको नयाँगाउँ, जस्पुर लगायका विभिन्न ठाउँमा रोपाई चलिरहेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नभन्दै प्यूठानमा जेठ ३१ गतेसम्मका लागि लकडाउन गरिएको छ । लकडाउनको असर सबै क्षेत्रमा परेको भए पनि यहाँका ग्रामीण क्षेत्रको कृषि काम भने भौतिक दूरी कायम गरी जारी रहेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (धान जोन) ईकाइ प्यूठानका अनुसार जिल्लाको कुल ४२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये ६ हजार ५५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । प्यूठानमा अहिले कुल क्षेत्रफलको ५५ प्रतिशत क्षेत्रफलमा रोपाइ भइसकेको छ ।
जेठ अन्तिमसम्ममा ८५ प्रतिशत रोपाइ सकिन्छ भने बाँकी टारी खेतहरुमा असारमा रोपाइ हुन्छ । गत वर्ष जेठको पहिलो सातामा सकिएको रोपाई यस वर्ष लकडाउनका कारण केहि ढिला भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (धान जोन) ईकाइ प्यूठानका कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।
९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइ हुने प्यूठानमा २०७५ सालमा प्रतिहेक्टर ३ दशमलव ८७ मेट्रिकटनका दरले २५ हजार ३४८ मेट्रिकटन धान उत्पादन भएको उनको पौडेलले जानकारी दिए । उनका अनुसार गतवर्ष ३ दशमलव ८७ मेट्रिकटन प्रतिहेक्टरका दरले उत्पादन भएको धान अहिले बढेर ४ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ । गतवर्ष प्यूठानमा २६ हजार २०० मेट्रिकटन धान उत्पादन भएको थियो ।
यसवर्ष उत्पादन बढेर ४ दशमलव ६ मेट्रिकटन प्रतिहेक्टर पुगेको कार्यालयको तथ्यांक छ । यस वर्ष किसानका लागि अनुदानमा साना आधुनिक मेसिनरी औजार तथा उपकरण, कृषि चुन, बिउ, मल लगायतका सामग्री उपलब्ध गराएकाले यसवर्ष धान उत्पादनमा अझै वृद्धि हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।