काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) शुक्रवार (आज) बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रवार बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा एफपीओ बाँडफाँट कार्यक्रम सम्पन्न गरेको हो ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट १९ हजार ५७७ जना योग्य आवेदकहरूलाई कम्पनीको एफपीओ बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धकले दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गरेको थियो ।
रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये १९ हजार ५७७ जना आवेदकमा १० कित्ताका दरले एफपीओ बाँडफाँट गरी बाँकी रहेको ३ कित्ता एफपीओ भने यी आवेदकहरूमध्ये तीन जनाले थप एक कित्ताका दरले प्राप्त गरेका छन् । यसरी हेर्दा स्वरोजगार लघुवित्तको एफपीओ बढीमा ११ कित्तासम्म बाँडफाँट भएको हो ।
विक्री प्रबन्धकमा अनुसार कम्पनीको एफपीओ खरीदका लागि १७ लाख ८० हजार ४५७ जना आवेदकहरूबाट २ करोड १७ लाख १५ हजार ७५० कित्ता शेयर खरीद माग भएको थियो । कुल आवेदकमध्ये २ हजार ६६४ जना आवेदकहरूबाट ४१ हजार ३५० कित्ता शेयर खरीदका लागि प्राप्त आवेदन भने रितपूर्वक नभएको भन्दै रद्द गरिएको छ ।
रितपूर्वक आवेदन दिएका १७ लाख ७७ हजार ७९३ जना आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराइएको थियो ।
दोस्रो बजारमा कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ९८१ रुपैयाँ कायम रहेको छ । यस कम्पनीले देशभर तराई तथा पहाडका ३६ जिल्लाका ९१ शाखा कार्यालयमार्फत १ लाख २९ हजारभन्दा बढी सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको यस कम्पनीको जारी पूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।
यस कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्थालाई २०७७ असोज २५ गते १०० बराबर ७० को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको थियो । प्राप्ति गरेको संस्था जनपुर लघुवित्तले प्रारम्भिक सार्वजनिक निष्कासन नगरेको अवस्थामा निष्कासन हुन बाँकी शेयर एफपीओमार्फत जारी गरेको हो ।