काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार होटल्सको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८ दशमलव ७० प्रतिशत वृद्धि भएको छ । होटल्सले गत आवमा रू. २ करोड ४६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ४ करोड ४० लाख पुगेको हो । चालू आवमा होटल्सको सञ्चालन आम्दानी बढेसँगै नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको तुलनामा चालू आवमा होटल्सको सञ्चालन आम्दानी २७ दशमलव ९३ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. १८ करोड १५ लाख रहेकोमा चालू आवमा बढेर रू. २३ करोड २२ लाख पुगेको छ ।
होटल्सको चुक्ता पूँजी रू. १ अर्ब ८८ करोड रहेको छ । चालू आवको पहिलो त्रैमासमा होटल्सले जगेडामा रू.७० करोड १८ लाख सञ्चिती गरेको छ । गत आवको यसै अवधिमा होटल्सको जगेडामा रू.५६ करोड ३१ लख थियो । होटल्सको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा होटल्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३१ पैसा रहेकोमा चालू आवमा बढेर २ रुपैयाँ ३४ पैसा पुगेको छ । चालू आवमा होटल्सको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ २० रहेको छ ।