काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । असार १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ८० करोड पुग्नेछ । हकप्रद विक्रीबाट संकलन भएको रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।
प्रस्तावित हकप्रद शेयर कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि नियामक निकायहरूले स्वीकृति दिएमा मात्र निष्कासनमा आउनेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ९ करोड ६८ लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनी रू. २ करोड ७८ लाखभन्दा बढी खुद नोक्सानीमा छ ।