काठमाडौं । तेह्रथुम पावर कम्पनीले हकप्रद शेयर बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णय बमोजिम नबिल इन्भेस्टमेन्ट बैंकिङलाई हकप्रद शेयर बिक्री प्रबन्धमा नियुक्त गरिएको हो ।
यससम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको छ ।
कम्पनीले शेयरधनीलाई सत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरी विद्युत नियमन आयोगमा निवेदन दिएर स्वीकृती पाउनुपर्नेछ । त्यसपछि नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।
कम्पनीको चुक्ता पूँजी रू. ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ८० करोड पुग्नेछ । हकप्रद विक्रीबाट संकलन भएको रकम कम्पनीद्वारा प्रवर्द्धिधत क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।