काठमाडौं । उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ ।
‘स्वर्ग’मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीतले तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ । पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्लको अभिनय रहेको यस गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन् । यादव खरेलको रचना गरेको सो गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन् ।
‘दियो बाली साँझको’ पनि गीत उत्तिकै लोकप्रिय छ । चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन् । कुशुम गजमेरले शब्द रचना तथा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेको सो गीतमा गायिका आशा भोस्लेले स्वर दिएकी छन् । निर्देशक तुलसी घिमिरेले चलचित्र तिहारको गीत र प्रसङ्गलाई कथावस्तुअनुसार नै प्रस्तुत गरेका छन् ।
चलचित्र ‘अन्याय’ मा समावेश मनिला सोताङले स्वर दिएको ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो । गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको उक्त गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन् । अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरू प्रस्तुत भएको सो गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्छ ।
चलचित्र ‘विजय पराजय’ मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’लगायतका गीतहरू नै तिहारमा देउसीभैलोसँगै सबैको रोजाइमा पर्ने गरेका छन् । नेपाली संस्कृतिलाई समेटेर यी गीतहरू अझै लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको सङ्गीतकार तथा गायक कर्णराज गिरीले बताए ।
उनले भने, “ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो । गीतिसङग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेका छन् । त्यहिँ कारण तिहार मात्र नभई दशैं, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन् ।”
गायक गिरीले उल्लेखित गीतहरू चाडपर्वमा मात्र गुञ्जिने र लागत खर्च बढी हुने भएकाले नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताए । पछिल्लो समय चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन् । तर, सङख्या निकै न्यून छ । पछिल्लो समय बनेका गीतसङगीतले माथि उल्लेखितलाई विस्थापित गर्न सकेको छैन । पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेको उनको भनाइ छ ।
“नयाँ गीतमा चाडपर्वको माहोल, संस्कृति र मिठास कम देखिएको हुन सक्छ । मेरो रोजाईमा पनि तिहारका पुरानै गीत पर्ने गरेका छन् । नयाँ गीत चाडपर्वलाई लक्षित गर्दै तयार गर्ने निकै कम छन्,” गायक गिरीले भने । रासस