काठमाडमौं । तीन जीवन बीमा कम्पनीहरूले साधारण सभा आयोजना गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा आयोजना गरेका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर ८ गते २२औं वार्षिक साधारण सभा गर्ने जानकारी दिएको छ । होटल भिष्वा वीरगञ्ज, पर्सामा बिहान ९ बजे सभा शुरू हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आव २०७७/७८ सम्मको मुनाफाबाट १५ दशमलव ७८ प्रतिशत नगद लाभांश करसहित पारित गर्नेछ ।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा कात्तिक १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
त्यसैगरी ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौं वार्षिक साधारण सभा कात्तिक २८ गते गर्ने भएको छ । सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाइड पोखरा-१८, कास्कीमा बिहान ११ बजे गर्ने जानकारी दिइएको छ । सभाले यस ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफ इन्स्योरेन्सको शून्य दशमलव ८२ कित्ता शेयर कायम गरी गाभिने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तैगरी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १४औं वार्षिक साधारण सभा कात्तिक २८ गते गर्ने भएको छ । सभा होटल हैरिसन प्यालेस बजरंगबलीमार्ग विराटनगरमा बिहान ९ बजे शुरू गर्ने जानकारी दिइएको छ ।
सभाले यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी यी दुई कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड राख्ने प्रस्ताव पनि पारित गर्नेछ । मर्जर प्रयोजनको लागि यी दुई सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।