बेइजिङ (चीन) । चीनमा शनिवार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङलगायत विभिन्न शहरहरूमा सयौं हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही रेल सेवाहरू पनि अस्थायी रूपमा रोकिएका छन् ।
चीनको मौसम विज्ञान प्रशासनले जनाएअनुसार यो तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो, जुन पूर्व र दक्षिणतर्फ सर्दै शुक्रवारदेखि नै असर पारिरहेको छ ।
‘अप्रिल १२ गतेको दिन सबैभन्दा तीव्र हावा चल्ने अनुमान छ । केही स्थानहरूमा वायुगति सन् १९५१ यताकै रेकर्ड नाघ्न सक्नेछ,’ मौसम विभागले भनेको छ ।
बेइजिङले पछिल्लो १० वर्षमा पहिलोपटक उच्च स्तरको हावाहुरी सतर्कता जारी गरेको छ । शनिवार बिहानसम्म बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा ४१३ उडानहरू रद्द भएका छन् । त्यसैगरी, विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्रगतिको रेल सेवा पनि स्थगित गरिएको छ ।
समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना र युनिभर्सल स्टुडियोज पार्कजस्ता पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।
बेइजिङ शहरमा करीब ३०० रूख ढलेका छन् । यस्तै, १९ ओटा गाडीहरूमा क्षति पुगेको छ । हालसम्म कुनै मानवीय क्षतिको खबर छैन ।
जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमका घटनाहरू चीनमा बारम्बार देखिन थालेका छन् । गत वर्ष बाढीका कारण दर्जनौं नागरिकको मृत्यु भएको थियो र हजारौं विस्थापित भएका थिए । त्यसैगरी, गत मे महीनामा लगातारको वर्षाले दक्षिणी चीनको एउटा सडक भासिँदा ४८ जनाको मृत्यु भएको थियो । रासस/एएफपी