रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका ‘शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख’ नगरपालिका बनेको छ । शुक्रवार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई उक्त घोषणा गरे ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति रूपन्देहीले खुला पोलिथिन शून्य अवस्था र पूर्ण सरसफाइका सूचकहरू पूरा गरेसँगै तिलोत्तमा खुला पोलिथिन शून्य र पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरेलाई प्रदान गरिएको हो ।
यसअघि समितिका पदाधिकारी एवं विज्ञ सहभागी टोलीले तिलोत्तमाको अनुगमन गरेको थियो । नगरपालिकाले बनाएको कार्यविधिमा खुला रूपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शून्य पोलिथिन भनिने उल्लेख छ ।
नगरवासीको घर–आँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थलबाट ७ महीना अवधिमा ८० हजार बोरा पोलिथनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शून्य खुला पोलिथिन घोषणा गरिएको हो । १२६ वर्ग किलोमिटरमा फैलिएको तिलोत्तमाका बासिन्दाले अब उप्रान्त फोहोर जथाभावी नफाल्ने, फालेमा कारबाही भोग्न तयार रहने कसम खाएका छन् । तिलोत्तमामा शून्य खुला पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डस्टबिन राखिएका छन् । नगरका सार्वजनिक स्थानमा कम्तीमा एक हजार डस्टबिन राख्ने नगरपालिकाको योजना छ । फोहोर संकलन कार्यसँगै संकलित फोहोरको व्यवस्थापनका लागि एकीकृत फोहोर प्रशोधन केन्द्रको निर्माण थालिएको छ । बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत यो विषय समेटिएको नगर प्रमुख घिमिरेले जानकारी दिए । यहाँका विद्यालय तथा टोल–टोलमा माई पकेट, माई फष्ट डस्टबिन अर्थात् मेरो खल्ती, मेरो पहिलो डस्टबिन अभियान सञ्चालनमा छ । सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गरिएको छ भने जथाभावी फोहोर फ्याक्नेलाई कारबाही गर्नस्थानीय कानून निर्माण गरिएको छ । यी सबै विषयले शून्य पोलिथिन घोषणालाई स्थायित्व गराउने नगर प्रमुख घिमिरेको विश्वास छ । सिम नेपालसँगको सहकार्यमा यहाँ शून्य पोलिथिन अभियान चलाइएको हो । जनप्रतिनिधि आएसँगै २०७४ साउनदेखि नियमित सञ्चालन हुँदै आएको सरसफाइ अभियान हाल ५७औं शृंखलामा पुगेको छ ।
नगर प्रमुख घिमिरेले नगरवासीको सक्रिय सहभागिताका कारण शून्य पोलिथिन अभियानले मूर्तरूप लिएको भन्दै यो अभियानमा झन्डै १ लाख नगरवासी सहभागी भएको बताए । शून्य पोलिथिन अभियानसँगै यहाँका सडक, सार्वजनिक स्थान, कुलो–नहर विगतको तुलनामा सफा देखिएका छन् ।
अनुगमनको क्रममा नगरवासीमा चेतनाको स्तर निकै बढेको पाइएको अनुगमनमा संग्लन प्राडा. भैया खनालले बताए । शून्य पोलिथिन अभियानले कृषि प्रणाली तथा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै उनले यसको निरन्तरताका लागि नगरवासी आफै क्रियाशील रहनुपर्नेमा जोड दिएका छन् ।