रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते ‘तिलोत्तमा लगानी सम्मेलन’ आयोजना गर्ने भएको छ । नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु सम्मेलनको मुख्य लक्ष्य रहेको नगर प्रमुख वासुदेव घिमिरेले बताए । सम्मेलनमा विभिन्न क्षेत्रका डेढ दर्जन परियोजना लैजाने नगरपालिकाको तयारी छ ।
‘आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई अझ व्यापक बनाउने उद्देश्यले लगानी सम्मेलन आयोजना गरिएको हो,’ शुक्रवार तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भने । सम्मेलनमा आयोजकसहित संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्ता समेत गरी ५ सय जना सहभागी हुने बताइएको छ ।
सम्मेलनले यहाँ भएका लगानीका अवसरलाई नजीकबाट जान्ने तथा बुझ्ने अवसर दिने बताउँदै नगर प्रमुख घिमिरेले यहाँको निजी क्षेत्र र नेपाल तथा अन्य मुलुकका निजी क्षेत्रबीच नेटवर्किङ विकास गराउन पनि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । ‘हामीले स्थानीय÷स्वदेशी लगानीकर्ता तथा विदेशी लगानीकर्तालाई ऋण दिने अथवा उहाँहरूसँग लगानीका लागि सहयोगी हुन सक्ने बैंक, वित्तीय संस्था, अन्तरराष्ट्रिय वित्तीय संस्थालाई पनि सम्मेलनमा सहभागी गराउने प्रयास गरेका छौं,’ उनले भने, ‘वित्त परिचालन र व्यवसाय सञ्चालनमा सजिलो पार्ने कुरामा परामर्श दिने तथा मुलुकलाई सहयोग गर्न तत्पर हुने संस्थाहरू पनि सम्मेलनमा सहभागी हुँदै छन् । यो सम्मेलन लगानीसँग सम्बन्धित सबै पक्षको भेटघाट तथा नेटवर्किङको साझा थलो पनि हुनेछ ।’
सम्मेलनका लागि करीब रू. ३० लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नगरपालिकाको तर्फबाट २० लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको नगरपालिकाले बताएको छ । सम्मेलनका लागि निजी क्षेत्रसँग सम्बद्ध संघ–संस्थासँग सहकार्य गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले बताइन् । सम्मेलनमा सहभागिताका लागि मुलुकका विभिन्न स्थानमा अन्तरक्रिया समेत गरिनेछ । लगानी सम्मेलनमा स्वदेशी विभिन्न औद्योगिक तथा व्यापारिक घरानाका साथै भारत, चीनबाट लगानीकर्ताहरू सहभागी हुने बताइएको छ ।
तिलोत्तमा नगरपालिका २०७१ सालमा स्थापित नयाँ नगरपालिका हो । यहाँ दिनहुँ चारओटा नयाँ घर थपिने गरेका छन् भने उद्योग, व्यापार, व्यवसाय, होटल, रिसोर्ट खुल्ने क्रम पनि तीव्र छ ।