काठमाडौं । नेपालमै पहिलोपल्ट निजीक्षेत्रको सहभागिता हुने गरी सार्वजनिक–निजी लगानीमार्फत निर्माण, सञ्चालन र हस्तान्तरण (बीओटी) मोडलमा निर्माण हुने तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माण गर्न छुट्टै कम्पनी स्थापना भएको छ ।
३ अर्ब ८० करोड रूपैयाँ अनुमानित लागत भएको उक्त प्रसारण लाइन निर्माण गर्न केही साताअघि तमोर ट्रान्समिशन पावर नामक कम्पनी स्थापना गरिएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोखरेलले जानकारी दिए । उनका अनुसार शेयर सदस्य कम्पनीहरूसँग भएको सम्झौता अनुरूपको विनियमावली बनेर स्वीकृत भएपछि छुट्टै कम्पनी स्थापना भएको हो ।
उनका अनुसार अहिले राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले उक्त कम्पनीलाई निर्माण लाइसेन्स हस्तान्तरण गर्ने कार्य प्रक्रिया अघि बढेको छ । ‘अब ठेक्का लाउनेदेखि निर्माणसम्मको सम्पूर्ण काम यही कम्पनीले गर्नेछ । प्रसारण लाइन निर्माण गर्न आगामी आर्थिक वर्षमा ठेक्का प्रक्रिया शुरू हुनेछ,’ पोखरेलले भने ।
आयोजनामा ७४ प्रतिशत शेयर विद्युत् उत्पादक कम्पनीहरू र २६ प्रतिशत शेयर राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको हुने प्रस्तावसहित गत पुस २ मा सम्झौता भएको थियो । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजीक्षेत्रका पाँचओटा जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनीबीच उक्त सम्झौता भएको थियो ।
बीओटी मोडलमा निर्माण गरिने प्रसारण लाइनका लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले २६, क्रिस्टल पावर डेभलपमेन्ट प्रालिले ४२, सिम्बुवा रेमिट हाइड्रोले ९, रेमिट हाइड्रोले १०, युनियन हाइड्रोपावरले ८ र नेपाल हाइड्रो भेन्चर प्रालिले ५ प्रतिशत स्वपूँजी लगानी गर्ने गरी पहिलेकै सम्झौताअनुरूप कम्पनी स्थापना भएको हो ।
३२ किलोमीटर लामो प्रसारण लाइन र २२०/१३२ केभीको सब–स्टेशन बनाउन ३ अर्ब ८० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
त्यसैगरी हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइनसमेत निजीक्षेत्रको सहभागितामा निर्माण गर्न राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र निजी कम्पनीहरूबीच सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको सचिव पोखरेलले बताए ।
यी दुई प्रसारण लाइन निर्माण गर्न यसअघि नै ६ निजी कम्पनीहरूले आवेदन दिइसकेका छन् । सोमध्ये हाइटार–शीतलपाटी ४०० केभी प्रसारण लाइनअन्तर्गत ४० दशमलव ७ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको ह्वाइट फ्लावर इनर्जी कम्पनी प्रालि, १२५ मेगावाट क्षमताको तल्लो वरुण खोलाको प्रवर्द्धक अपिक इनर्जी प्रालि, ४४ मेगावाट क्षमताको बकान खोला जलविद्युत् आयोजना बनाइरहेको समिट इनर्जी सोलुसन प्रालि र ६३ मेगावाट क्षमताको छुजुङखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक सांग्रिला ऊर्जा लिमिटेडले यसअघि नै आवेदन दिइसकेका छन् ।
त्यसैगरी लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणका लागि १६० मेगावाट क्षमताको ल्याप्चेखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक नासा कम्पनी लिमिटेड र जुमखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक सानिमा हाइड्रोपावरले आवेदन दिएका छन् ।
यी कम्पनीहरूसँग सम्झौताको प्रक्रिया अन्तिम चरणमा छ । आयोजनामा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र यी कम्पनीबाट शेयर संरचनामा कसका अंश कति रहने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले बताए ।
‘अबको केही दिनमै टुंगोमा पुग्नेछ । आवेदन दिएका बाहेक अरू जलविद्युत् कम्पनीहरूलाई समेट्नेबारे पनि छलफल भइरहेको छ,’ उनले भने ।