यो हप्ता शहरमा एउटा ठूलै भीड देखियो । लाग्थ्यो कि जनतालाई नयाँ सरकारको समर्थनमा विशाल र्याली निकाल्न भनिएको छ । तर होइन, भीड त पुरानो राजालाई फर्काउन पो निस्किएको रहेछ । ‘राजा आऊ, देश बचाऊ’ भन्दै चर्का नाराहरू घन्किरहेका थिए । कोही गान्धीवादी शैलीमा माला लिएर आएका थिए त कोही क्रान्तिकारी । सरकारका समर्थकहरू अलमलमा थिए । हिजो भोट त हामीले दलहरूलाई दिएका थियौं, तर आज मान्छेहरू सडकमा राजा खोज्दैछन् । हैन के भइरहेछ यहाँ ? २० वर्षअघि ‘फाँसी दे’ भन्दै त्यत्रो जुलुस निस्केको थियो । अहिले पनि त्यस्तै भन्दै जुलुस निक्लियो, तर ठ्याक्क उल्टो ।
तर, हाम्रो आदत नै हो कि पहिले हतारमा कुनै एकजनालाई देवता बनाइहाल्छौं अनि समय घर्किंदै गएपछि त्यही देवताको मूर्ति भत्काउनतिर लाग्छौं । नयाँ सरकार आएको बेलामा पनि यस्तै भएको थियो ।
नयाँ ‘सरकार’ बनेपछि शुरू शुरूमा तपाईं भित्रैदेखि खुब खुशी हुनुभएको थियो होला, रोमाञ्चित हुँदै भित्रैदेखि तपाईंलाई काउकुती पनि लागेको थियो होला । जुलसमा जानु भो पनि होला । आफैं मन्त्री भएजस्तो पनि लाग्यो होला । साह्रै मन परेको थियो होला । यति धेरै कि केही भन्नै सक्नुभएको थिएन । अब त देशमा केही हुने भो भनेर मनमा सुनौला लड्डु फुटेहोलान्, तपाईंका सपनाहरूको झरना बग्न थालेको थियो होला । तपाईंको घर–बार अस्तव्यस्त थियो तर नयाँ सरकार आएपछि सबै समस्या सुल्झिएर स्वर्ग जस्तै हुनेछ भन्ने विश्वास थियो । परिवारलाई गाँस, वास र कपासको, आमा–बाबुलाई नि:शुल्क स्वास्थ्योपचारकोे, छोराछोरीलाई सुलभ र गुणस्तरीय शिक्षाको अवसरको, भाइबहिनीलाई जागिर वा व्यापारको राम्रै अवसर पाइने भो भनेर पक्कै दंग हुनुहुन्थ्यो ।
तर, सरकारको विशेषता के हो भने ऊ जब सरकार सत्ता नजिक जान चाहन्छ, ऊ हात जोड्छ, खुट्टा छुन आइपुग्छ । चुनावअघि कहिल्यै नगरेको नाटक गर्छ, बुइ चढ्छ, गाली खान्छ, पन्य् खान्छ । तैपनि ‘जनताको सेवक’ भन्दै टाउको झुकाउँछ ।
पहिलो पटक जब सरकारले तपाईंको खुट्टा छोयो, तपाईंको छाती गर्वले फुलेर डबल भयो होला । लाग्यो होला कि तपाईं सरकारको ‘डियर र नियर टु ग्रेट’ छन् । खुट्टा नछुनु भन्दै गर्दा तपाईंले सरकारको हात समात्न पुग्नुभयो र त्यो बेला केही करेन्ट लागेजस्तै भयो होला । धन्न हल्का करेन्ट लागे पनि फ्युज चैं उडेनछ ।
तपाईंले केही बुझ्न सक्नुभएन । तर, यदि अलि सोच्नुभएको भए बुझ्न सक्नुहुन्थ्यो कि ‘ब्याट्री फुल चार्ज’ छ । केही झट्का यस्ता हुन्छन् जुन मजा दिने खालका हुन्छन् । मनमा तुरुन्त त्याग र बलिदान गर्ने इच्छा भयो । तर, ‘मन अलि धैर्य गर’ भन्ने प्यारासिटामोलले काम गर्यो र त्यो बलिदानको ज्वरो ओरालो लाग्यो ।
अन्तत: त्योे दिन आयो जसको प्रतीक्षा थियो र सरकारको वास्तविकता थाहा भयो । प्रक्रिया वा परम्पराअनुसार सरकार पहिलोपटक तपाईंको बायाँपट्टि बस्यो । ऊ एकदम आज्ञाकारी रोबोट जस्तै देखिन्थ्यो । लाग्थ्यो, केही गर्न भन्नासाथ तुरुन्त गरिदिन्छ जस्तै । तपाईंको ढाडको हड्डी सिधा भयो र एक किसिमको गर्वको महसुस भयो । लाग्यो, अब त सभापतिदेखि राष्ट्रपतिसम्मका सबै ‘पति’ तपाईं नै बन्ने हो ।
त्यसबेला सरकारले शिर झुकाएर तपाईंसँग बिस्तारै भनेजस्तो लाग्योे, ‘तपाईं स्वामी छन्, म तपाईंको सेवक हुँ ।’ त्यो सुनेर त तपार्ईंको खुट्टा भुइँमै रहेन होला । शरीरमा केही हल्का–फुल्का हावा वा बादल जस्तै केही भरिएझैँ भयो होला । मख्ख पर्दै हिँड्न थाल्नुभयो । यसरी सरकारले हरेक दिन नयाँ सपना, हरेक दिन नयाँ वाचा, हरेक दिन नयाँ नयाँ सुख देखाउन थाल्यो ।
एक दिन सरकारले तपाईंसँग भनेको पनि थियो, ‘सुन्नुस् त, हाम्रो छोरा भए उसको नाम विकास राख्नुपर्छ है ?’ अनि तपाईंले पनि सोध्नुभयो, ‘अनि छोरी भए नि ?’ ‘उन्नति वा समृद्धि राख्ने नि,’ उसले भनेको थियो । अनि तपाईं झन् दंग, फुरुङ्ग पर्नुभएको थियो ।
तपाईं विकास र उन्नतिको सपनामा यति गहिरोसँग हराउनुभयो कि जुम्ल्याहा बच्चाको पो आशा गर्न थाल्नुभयो । यता सरकार त मोटाउँदै गयो तर विकास भएन । जति टेस्ट गराए पनि रिपोर्ट त ‘नेगेटिभ’ नै आइरह्यो ।
सरकारलाई जब एक पटक ‘म सुरक्षित छु’ भन्ने लाग्छ तब ऊ शासन गर्न थाल्छ । तपाईंको खाना, नाना र छानालाई स्वर्ग बनाउने सपना कहिले ओइलाएर सुके, तपाईंलाई पत्तै भएन । एक दिन मौका मिलाएर तपाईंले हिम्मत जुटाउँदै सरकारलाई सोध्नुभयो, ‘सरकार, कुनैबेला तिमीले भनेका थियौ, स्वामी–प्राणनाथ, तिमी अघि म पछि पछि, सँगै सँगै । भुल्यौ कि क्या हो ?’
सरकारले हल्का मुस्कुराउँदै भन्यो, ‘त्यो त गफ पो गर्या, गफ त गफै हुन्छ नि । गफमा गम्भीर हुनुको के अर्थ हुन्छ र ? त्यसमा ध्यान नदेऊ । सरकार त सधैँ तिम्रै हो र तिम्रै रहनेछ । यो सानो कुरा होइन । बरु यो कुरामा गर्व गर ।’
तपाईं अचम्ममा पर्नुभयो । तर सरकार रोकिएन, ‘तिमीले नै चुनेका हौ, तिमीले नै पाल्नु पर्छ । जे कमाउँछौ, त्यो पर्याप्त छैन । अलि ‘पार्ट टाइम’ काम पनि गर, थप कर तिर । तिम्ले कर नतिरे तिम्रो सरकार कसरी चल्छ ?’
तपाईंले अक्क न बक्क र छक्क पर्दै सरकारसँग फेरि सोध्नुभयो, ‘सरकार, अनि खै त विकास ? ... अझै भएन त ? किन ?’
सरकारले अलि झर्किएर भन्यो, ‘त्यो त तिम्रै गल्ती हो नि ।’
त्यो सुन्नासाथ तपाईंको घरको कुनै गमला झर्याम्मझुरुम फुट्यो । सरकार तर्सिएन बरु सरकारले तुरुन्त आदेश दियो, ‘ए को छ त्यहाँ हँ, तुरुन्त झाडु लगाऊ, फाृेहोर उठाऊ र राम्ररी सफा गर । ध्यान देऊ नि, हातमा काँचको टुक्रा चैं नलागोस् है ।’
अब बल्ल तपाईंलाई थाहा भयो । यो त तपाईंकै आफ्नै सरकार रहेछ ।
अन्त्यमा एउटा प्रश्न तपाईंलाई नै । अब के गर्ने ? झाडु लिएर चुपचाप सफा गर्ने कि सडकमा उत्रिएर ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरूलाई थपडी बजाएर समर्थन गर्ने ?
झाडु लिएर चुपचाप सफा गर्ने कि सडकमा उत्रिएर ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरूलाई थपडी बजाएर समर्थन गर्ने ?
सरकारलाई जब एक पटक ‘म सुरक्षित छु’ भन्ने लाग्छ तब ऊ शासन गर्न थाल्छ । तपाईंको खाना, नाना र छानालाई स्वर्ग बनाउने सपना कहिले ओइलाएर सुके, तपाईंलाई पत्तै भएन ।