वासिङ्टन डिसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा दिँदै आएको दुई अर्ब डलरभन्दा बढीको संघीय अनुदानमा रोक लगाएको छ ।
ह्वाइट हाउसका माग पूरा गर्न अस्वीकार गरेपछि ट्रम्प प्रशासनले विश्वविद्यालयलाई दिँदै आएको अनुदानमा रोक लगाएको हो । ह्वाइट हाउसले यहुदी विरोधी भावनाविरुद्ध लड्न गत शुक्रवार विश्वविद्यालयमा मागको सूची पठाएको जनाएको छ । जसमा नियुक्ति र भर्ना प्रक्रिया परिवर्तन गर्नुपर्ने पनि उल्लेख छ । ती माग पूरा गर्न विश्वविद्यालयले अस्वीकार गरेको थियो । त्यसको केही घन्टामै ट्रम्प प्रशासनले विश्वविद्यालयलाई दिँदै आएको अनुदान रोक्ने निर्णय गरेको हो ।
विश्वविद्यालयले ह्वाइट हाउसमाथि आफ्नो समुदायलाई ‘नियन्त्रण’ गरेको आरोपसमेत लगाएको छ ।
विश्वविद्यालयका अध्यक्ष एलन गार्बरले विश्वविद्यालयले आफ्नो स्वतन्त्रता वा संवैधानिक अधिकार नछोड्ने बताएका छन् । उनले यहुदी विरोधी भावनाविरुद्ध लड्ने आफ्नो जिम्मेवारीबाट विश्वविद्यालय पछि नहटेको भए पनि सरकार विश्वविद्यालयको अधिकारमाथि अतिक्रमण गरिरहेको आरोप लगाए । एजेन्सीको सहयोगमा