अहिले मानविकी, शिक्षा संकायमा विद्यार्थीको आकर्षण घटेको छ । तर, विज्ञान तथा प्राविधिक र व्यावस्थापनका केही नयाँ विषयमा बढेको छ । समग्रमा अहिले विद्यार्थीको उच्च शिक्षामै आकर्षण घटेको छ । अहिलेको शिक्षा मानिसको जीवन निर्वाहसँग जोडिन सकेन । उद्योगधन्दा बन्द हुँदै गए । प्रमाणपत्र तह पास गरेपछि विदेश गएर पढ्ने क्रम बढेको छ । स्नातकोत्तर पढेकाहरू मलेशिया र कोरिया जानुपर्ने बाध्यता हुँदै छ । स्नातकोत्तर पढेका ‘दाइहरू’ कोरिया र मलेशिया जाँदा पछिल्ला पुस्ताका ‘भाइहरू’मा पनि यतिको पढेका दाइ विदेश गइरहेका छन्, हामी किन पढ्ने ? बरु अहिले नै विदेश जाने भन्ने सोचको विकास हुँदै छ ।
सामान्य आर्थिक अवस्था भएका विद्यार्थी पनि भारतका विभिन्न कलेजमा प्राविधिक विषय पढ्न जाने क्रम बढेको छ । सक्ने अष्ट्रेलिया, अमेरिका जस्ता मुलुक गएका छन् । गुणस्तरहीन र गुणस्तरीय शिक्षा भए पनि मानिस नेपालमा बस्न छाडिसकेका छन् ।
देशमा भएका विभिन्न स्रोतसाधन विदेशीले ओगट्दै गएका छन् । देशको शिक्षित जनशक्ति घट्दै छ । विदेशीले देशको साधनस्रोत ‘होल्ड’ गरेर राख्ने र स्वदेशका दक्ष जनशक्ति विदेश पलायन हुँदै गए राष्ट्रियतामै समस्या पर्न सक्छ । त्यसैले, नीति निर्माणमा बस्ने मानिसले कस्तो शिक्षा पढाउने र विदेश पलायन भइरहेका विद्यार्थीलाई कसरी रोक्ने भन्ने विषयमा बेलैमा ध्यान दिनुपर्छ ।