विराटनगर। उद्योग संगठन मोरङले ५६औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संगठनले शुक्रवार स्थापना दिवसको अवसर पारेर पूर्वअध्यक्षहरूको योगदान बारे चर्चा समेत गरेको छ । रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान समेत गरेका थिए ।
संगठनका अध्यक्ष राकेश सुरानाले स्वर्णिम इतिहासको जगमा संगठन स्थापित भएको उल्लेख गर्दै पूर्वअध्यक्षहरूले संगठनको श्रीवृद्धिमा पुर्याएको योगदानलाई स्मरण गरे । संगठनले अध्ययन अनुसन्धानमा आधारित नीतिगत बहस पैरवीलाई जोड दिँदै उद्यमशीलता प्रवर्द्धनको इकोसिस्टम विकासमा आफू क्रियाशील रहेको उनले बताए ।
निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले कुनै पनि संस्थाको गरिमा अभिवृद्धिमा नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने बताए । प्याकुरेलले औद्योगिक विकास र लगानीमैत्री वातावरण निर्माणमा संगठनले विगतदेखि पुर्याउँदै आएको योगदानलाई समेत वर्तमान नेतृत्वले निरन्तरता दिनेमा विश्वस्त रहेको बताए ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले व्यापार संघ र उद्योग संगठनले उद्योगी व्यवसायीको मुद्दालाई राष्ट्रियकरण गर्न निरन्तर सहकार्य गर्दै आएको स्मरण गरे । उनले अगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
संगठनका कार्यसमिति सदस्य एवं ५६औं स्थापना दिवस कार्यक्रम आयोजना समितिका संयोजक जयेन्द्र शर्माले आर्थिक एवं औद्योगिक विकासका लागि संगठन प्रतिबद्ध भएको र संगठनको संस्थागत विकासमा सहयोग पुर्याउने सबै क्षेत्रलाई धन्यवाद दिए ।