काठमाडौं । बीमा कम्पनीहरूले उत्पादमूलक क्षेत्रमा लगानी वृद्धि गर्न थालेका छन् । नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका संशोधन गरी कृषि, ऊर्जा, पर्यटनलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेपछि कम्पनीहरू यसमा आकर्षित हुन थालेका हुन् ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमाससम्ममा बीमा कम्पनीहरूले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा ११ अर्ब २४ करोड रुपैयाँ लगानी गरेका छन् । यसमध्ये जीवन बीमा कम्पनीहरूको १० अर्ब २५ करोड र निर्जीवन बीमा कम्पनीहरूको ९९ करोड १६ लाख रुपैयाँ रहेको छ । गत आवको पहिलो त्रैमाससम्ममा भने बीमा कम्पनीहरूले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा ७ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका थिए । एक वर्षको अवधिमा कम्पनीहरूको लगानी करीब ५० प्रतिशतले वृद्धि भएको हो । हाल सञ्चालनमा रहेका १४ ओटा जीवन बीमा कम्पनीमध्ये ८ ओटाले यस क्षेत्रमा लगानी गरेका छन् । यसमा सबैभन्दा बढी राष्ट्रिय जीवन बीमा कम्पनीको ४ अर्ब ७७ करोड रुपैयाँ लगानी छ । यसैगरी १४ ओटा निर्जीवन बीमा कम्पनीमध्ये ५ ओटाले उत्पादन तथा पूर्वाधारमा लगानी गरेका छन् ।
तत्कालीन बीमा समितिले २०७५ चैतमा लगानी निर्देशिका संशोधन गर्दै कम्पनीहरूलाई मुद्दती निक्षेप र शेयरका अतिरिक्त घरजग्गा व्यवसाय र जलस्रोत, कृषि, पर्यटनलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेको थियो । निर्देशिकाअनुसार कम्पनीहरूले आफ्नो कुल टेक्निकल रिजर्भमध्ये वाणिज्य बैंकमा न्यूनतम ४० प्रतिशत, पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, विकास बैंकमा बढीमा २० र फाइनान्स कम्पनीमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । सरकारको बचतपत्र र ऋणपत्रमा ५ प्रतिशतसम्म, पूर्वाधार बैंकको मुद्दतीमा ४० प्रतिशतसम्म, घरजग्गा व्यवसायमा ५ प्रतिशतसम्म, सूचीकृत कम्पनीको साधारण शेयरमा १० प्रतिशतसम्म र अग्राधिकार शेयरमा २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । यस्तै सूचीकृत कम्पनीका ऋणपत्रमा २० प्रतिशतसम्म, कृषि पर्यटन जलस्रोतलगायत पूर्वाधारमा २० प्रतिशतसम्म, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
कम्पनीहरूले पर्यटन तथा वायुसेवा क्षेत्रमा लगानी गर्न ड्यु डेलिजेन्स र सम्भाव्यता अध्ययन प्रतिवेदन, कृषिक्षेत्रका लागि ड्यु डेलिजेन्स, केबलकारका लागि १० वर्षको व्यावसायिक कार्ययोजना र घरजग्गा क्षेत्रमा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान छ । यी क्षेत्रमा प्राधिकरणको स्वीकृतिपछि मात्र कम्पनीहरूले लगानी गर्न पाउँछन् ।
चालू आवको असोजसम्ममा जीवन बीमा कम्पनीहरूको लगानी ६ खर्ब ७७ अर्ब ५९ करोड र निर्जीवन बीमा कम्पनीको ६७ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये ६० प्रतिशतभन्दा बढी लगानी बैंक, वित्तीय संस्थाको मुद्दती निक्षेपमा छ । प्राधिकरणको निर्देशिकाअनुसार कम्पनीहरूले विस्तारै लगानी विविधीकरण गरिरहेको जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बताए । ‘निर्देशिकाअनुसार कम्पनीहरूले विस्तारै उत्पादनका क्षेत्रमा लगानी गर्न थालेका छन्,’ उनले भने, ‘नयाँनयाँ क्षेत्र भएकाले जोखिम विश्लेषण गरेर लगानी गर्नुपर्छ ।’ पछिल्लो समय कम्पनीहरूले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिलगायत कम्पनीमा लगानी गर्न थालेका छन् ।