काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सप्तरीको कल्याणपुरस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न फलफूलका बिरुवा वितरण गरेको छ ।
वित्तीय संस्थामा आवद्ध ग्राहक महिला सदस्यहरूलाई कृषिमा उद्यमी बनाउने अभिप्रायले खडक नगरपालिका वडा नं. ५ र ६ साथै शम्भुनाथ नगरपालिका वडा नं. ७ र ८ का ९९ घरधुरीका महिला ग्राहक सदस्यहरूलाई आँप, लिची र कागतीका बिरुवा वितरण गरिएको हो ।
कार्यक्रम शम्भुनाथ नगरपालिकाको वडा नं. ८ स्थित आधारभूत विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि शम्भुनाथ नगरपालिकाको वडा नं. ८ वडाअध्यक्ष इन्द्रकान्त चौधरीले समुदायमा यस प्रकारका बिरुवाहरू वितरण गरी कृषि उद्यममा सघाउ पुर्याएकोमा स्वावलम्ब लघुवित्तलाई धन्यवाद दिए ।
त्यसैगरी विशिष्ठ अतिथि विद्यालयका प्रधानाध्यापक विजय कुमार चौधरीले महिलाहरूलाई फलफूलका बिरुवा वितरणबाट गाउँमा फलफूल खेतीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शाखा प्रबन्धक अनिल कुमार साहले वित्तीय संस्थाले कर्जा तथा बचतको सेवाका अतिरिक्त समयसमयमा ग्राहक सदस्यलाई विभिन्न उद्यममा टेवा पुग्ने गरी आर्थिक तथा गैरआर्थिक सहयोग तथा उद्यमशीलता प्रवर्द्धनका लागि कार्य गर्दै आएको बताए ।
प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ ।