विद्यालयमा भौतिक सुविधासम्पन्न कक्षाकोठा, व्यावहारिक पाठ्यक्रम, पाठ्यपुस्तक र दक्ष शिक्षकद्वारा गुणस्तरीय पठनपाठनको व्यवस्था नै स्मार्ट व्यवस्थापन हो । विद्यालयमा विद्यार्थीका लागि शैक्षिक वातावरण, शैक्षिक सामग्रीको प्रयोग, सरल र अर्थपूर्ण शिक्षण, शिक्षक र विद्यार्थीबीच मित्रवत् व्यवहार, विद्यार्थीको पूर्व ज्ञानको जग, उमेर, सिकाइ क्षमता आदिका आधारमा अध्ययन–अध्यापन गर्ने–गराउने विधि स्मार्ट शैक्षिक व्यवस्थापनअन्तर्गत पर्दछन् ।
स्मार्ट व्यवस्थापनमा पाठ्यक्रम र पाठ्यवस्तुका निर्धारित उद्देश्य पूरा गराउन विद्यार्थी केन्द्रित शिक्षण प्रणाली अपनाउनपर्छ । यसो गर्दा शास्त्रीय शैलीको शिक्षण प्रयोगलाई फेरेर अभिनय, प्रदर्शन, अन्तरक्रिया, विद्यार्थी सहभागिता, सहपाठी अन्तरक्रियाका साथै प्रविधिमैत्री शिक्षण सिकाइलाई जोड दिनुपर्दछ । साथै, अध्यापन गराउने गुरुजनको आकर्षक व्यक्तित्व, मीठो भाषिक अभिव्यक्ति, स्नेही स्वभाव, उच्च नैतिकता, आत्मविश्वास, नेतृत्व शीप, स्पष्ट वक्ता, सहयोगी, विनयशील, जिज्ञासुका साथै शिक्षणमा निपुणता जस्ता गुण स्मार्ट शिक्षण कक्षाको व्यवस्थापनमा वाञ्छनीय ठानिन्छ ।
आजको युगमा स्मार्ट शैक्षिक व्यवस्थापन विज्ञान तथा प्रविधिमैत्री हुनुपर्छ । विद्यालयमा कम्प्युटर शिक्षा, इण्टरनेटको सुविधा, वेबसाइटको प्रयोग गरी ज्ञान सिक्ने र सिकाउने विधि र व्यवस्था, विज्ञानका प्रयोगशाला, पुस्तकालयलगायत सुविधा स्मार्ट व्यवस्थापनमा पर्छन् । अहिले विज्ञान र प्रविधिको विकास भएको समय हो । विज्ञान र प्रविधिको विकासले विश्व एउटा गाउँजस्तो भएको आजको अवस्थामा विद्यार्थीले सैद्घान्तिक, वैज्ञानिक तथा प्राविधिकलगायत क्षेत्रमा खोज, अनुसन्धानका साथै प्राविधिक ज्ञान र शीपमा सक्षम हुनु आवश्यक मानिन्छ ।
स्मार्ट शैक्षिक पद्घतिमा प्राविधिक मात्र नभएर मनोवैज्ञानिक पक्षलाई पनि ध्यान दिन त्यत्तिकै जरुरी छ । शिक्षणको मनोवैज्ञानिक पक्षले बालकेन्द्रित शिक्षण पद्धतिमा जोड दिन्छ । शिक्षकहरूले शिक्षण सिकाइ गर्दा विद्यार्थीको अभिरुचि, व्यक्तिगत वा अन्य समस्यालगायत सिकाइलाई प्रभाव पार्ने तत्त्वमा ध्यान दिनुपर्छ । शिक्षाशास्त्री रोबर्ट फोष्टरले शिक्षण सिकाइ शिक्षकमा भएको ज्ञानलाई सिकारुमा स्थानान्तरण गर्ने कला मानेका छन् । यो ज्ञान स्थानान्तरणको कलालाई स्मार्ट शैक्षिक व्यवस्थापन र प्राविधिक सुविधासँग जोडेर ज्ञान दिन सके शिक्षण सिकाइ गुणस्तरीय हुने अपेक्षा गरिन्छ ।
हाम्रो देशको शिक्षामा आमूल परिवर्तन आजको आवश्यकता हो । आमूल परिवर्तनभित्र देशको शिक्षानीति, शिक्षाको उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ पद्धति, मूल्याङ्कन प्रणालीलगायत विद्यालयको भौतिक सुविधा, शिक्षक व्यवस्थापनलगायतमा परिवर्तन आवश्यक ठानिन्छ । समाज रूपान्तरणका लागि राजनीतिक परिवर्तनसँगै शैक्षिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पनि परिवर्तन आवश्यक हुन्छ । हाम्रो देशमा तीव्र राजनीतिक परिवर्तन भयो । नागरिकको राजनीतिक चेतनाको स्तर अभिवृद्धि पनि भयो । तथापि, शिक्षाको समयसापेक्ष विकास हुन सकेको छैन । यस अर्थमा शिक्षा क्षेत्रको विकासका लागि स्मार्ट शैक्षिक व्यवस्थापन अनिवार्य शर्त हो ।
अहिले शिक्षामा आमूल परिवर्तनकोे बारेमा सामाजिक बहस भइरहेको छ । शिक्षा समयसापेक्ष बन्न नसकेको बुझाइ विज्ञहरूको छ । सामुदायिक विद्यालयमा गुणस्तरीय पठनपाठनको व्यवस्था हुन नसकेको राष्ट्रिय बहस छ । राज्यले शिक्षामा ठूलो धनराशी खर्च गरेको पनि छ । यद्यपि, शिक्षाक्षेत्र किन तहस नहस हुन पुग्यो, हाम्रो देशका शिक्षालयले किन गुणस्तरीय शिक्षा दिन असफल भए भन्ने प्राज्ञिक सरोकारको विषय बनेको छ ।
शिक्षा व्यक्ति, व्यक्तित्व र समाज विकासको भरपर्दो आधार हो । देशका शिक्षालयहरू भोलिको समाजलाई आवश्यक पर्ने हरेक क्षेत्रका जनशक्ति उत्पादन गर्ने स्रोत केन्द्र हुन् । राज्यले शिक्षाक्षेत्रलाई समय सुहाउँदो बनाउन सकेन भने समाजका हरेक क्षेत्र कमजोर हुन्छन् । देशका विद्यालय भविष्यका सक्षम, वैज्ञानिक सुझबुझ भएका, सृजनशील, स्वावलम्बी, उद्यमशील, आर्थिक विकासमा टेवा पु¥याउने, अनुशासित, कर्तव्यनिष्ठ, प्रविधिमैत्री नागरिक उत्पादन गर्ने आधार भएकोले विद्यालय तहदेखि नै स्मार्ट शैक्षिक व्यवस्थापनको आवश्यकता देखिन्छ ।
शिक्षा मानिसको आन्तरिक शक्तिलाई बाहिर ल्याउने माध्यम पनि हो । आजको युगमा शिक्षालाई जीवनको सार्थकता र सभ्य समाज निर्माणका साथै भौतिक विकासको पूर्वाधार पनि मानिन्छ । यस अर्थमा शिक्षालाई जीवनको तयारी र समाज विकासको भरपर्दो साधनको रूपमा हेरिन्छ । त्यसैले, विद्यालय तहको शिक्षाको गुणस्तर उकास्नु अनिवार्य भइसकेको छ । यसका लागि स्मार्ट शैक्षिक व्यवस्थापन हुनुपर्छ ।
वास्तवमा शिक्षण सिकाइ प्राविधिक शीपसँग जोडिएको हुन्छ । जुनसुकै प्राविधिक कार्य सम्पन्न गर्न विशेष शीप र दक्षता चाहिन्छ । हाम्रा शिक्षालयमा परम्परागत शैलीमा आधारित शिक्षण पद्धति भएकोले विद्यालयहरूको गुणस्तरीय पठन पाठनको व्यवस्थापन आजको चुनौती हो । शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ । यस्तै, राज्यलगायत शिक्षा क्षेत्रमा संलग्न निकायले इमानदारीसाथ स्तरीय शैक्षिक व्यवस्थापनमा काम गर्नुपर्ने देखिन्छ ।
गुणस्तरीय शिक्षण शैक्षिक व्यवस्थापनको महत्त्वपूर्ण पाटो हो । स्मार्ट शिक्षण व्यवस्थापनमा शिक्षणका प्रचलित कथाकथन, प्रश्नोत्तर, व्याख्या, प्रवचन जस्ता शैली रूपान्तरण गर्नु जरुरी छ । गुरुहरूको विद्यार्थीलाई तर्साउने, हप्काउने, दण्ड सजाय दिने, मानसिक पीडा र त्रासमा गरिने शिक्षण सिकाइ बालकेन्द्रित हुन सक्दैन । परम्परागत शिक्षण प्रणालीले विद्यार्थीको रचनात्मक चिन्तनको विकासमा अवरोध गर्दछ । यस अर्थमा आजका विद्यालयको स्मार्ट शैक्षिक व्यवस्थापनमा आधुनिक शिक्षण विधि पनि आवश्यक छ । आजको युगमा सिक्न–सिकाउन र बुभ्mन–बुझाउन विविध प्रकारका सैद्घान्तिक, मनोवैज्ञानिक तथा प्रयोगात्मक विधिको उपलब्धता भएकोले स्मार्ट शिक्षण व्यवस्थापनभित्र यी सुविधालाई समावेश गर्नुपर्ने हुन्छ ।
शिक्षाक्षेत्रको व्यवस्थापन आजको चुनौती हो । शैक्षिक क्षेत्रमा स्मार्ट व्यवस्थापन नभएकोले शिक्षाको गुणस्तरमा सामाजिक असन्तुष्टि बढेको हो । गुणस्तरीय पठनपाठन हुन नसकेको हो । शिक्षाक्षेत्रमा उचित व्यवस्थापन र आधुनिक शिक्षण शैलीलाई अनुसरण गर्न सक्ने क्षमता नभएमा शिक्षाको जग भत्कन्छ । गुणस्तर माथि उठ्न सक्दैन । देशको शैक्षिक भविष्य अन्धकार हुन्छ । त्यसैले, आजका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समयसापेक्ष शिक्षण सिकाइको स्मार्ट व्यवस्थापन जरुरी छ । यसका लागि शिक्षण सिकाइको क्षेत्रमा विकास भएका उपलब्धिलाई प्रयोगमा ल्याई स्मार्ट शिक्षण व्यवस्थापन र कार्यान्वयन गर्नुपर्छ । यसो गर्दा राज्यले शिक्षाविद्, बुद्धिजीवी, विचारक, लेखक, पाठ्यक्रमविद्, मनोविद्, दार्शनिकलगायत थिङ्क टयाङ्कसँग सहकार्य गर्नु आवश्यक छ ।
गुणस्तरीय शिक्षाको अभावमा हाम्रा शिक्षालय बेरोजगार शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रयोगशालाको रुपमा सञ्चालित भएको घामजस्तै छर्लङ्ग छ । शिक्षाले आत्मनिर्भता, स्वावलम्बी, औद्योगिक ज्ञान र शीप भएका नागरिक उत्पादन गर्न सकेको छैन । त्यसैले, समाज एक्काईसौं शताब्दीको दोस्रो दशकमा गतिशील भइरहेको अवस्थामा उपलब्ध ज्ञान, विज्ञान र प्रविधिलाई समेत प्रयोगमा ल्याई स्मार्ट शैक्षिक व्यवस्थापनमा राज्य र सरोकारवाला लाग्न ढिला गर्नु हुँदैन ।
लेखक शिक्षाविद् हुन् ।