काठमाडौैं । डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महशुल नतिरेर लाइन काटिएपछि किस्ता तिर्ने उद्योगमा तत्काल विद्युत जोड्न विद्युत नियमन आयोगले निर्देशन दिएको छ । आयोगले नेपाल विद्युत प्राधिकरणलाई पत्रमार्फत उक्त निर्देशन दिएको हो ।
साथै उद्योगीबाट आवधिक रूपमा असुल/फरफारक गर्ने गरी उपयुक्त अनुपातमा रकम तोक्नसमेत पत्रमा भनिएको छ ।
‘नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०६१।०१।२७ को निर्णयमा उल्लेख भएको २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको विवादित डेडिकेटेड फिडर र ट्रडलाइनको बक्यौता विद्युत महसुलको हकमा मात्र सम्बन्धित उपभोक्ताबाट आवधिक रूपमा असुल÷फरफारक गर्ने गरी तहाँ प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महसुल नबुझाएको कारणबाट लाइन काटेको भए तापनि सम्बन्धित ग्राहकले त्यस्तो आवधिक रकम बुझाएपछि तत्कालै विद्युत लाइन जोडिदिने,’ पत्रमा उल्लेख छ ।
उक्त विद्युत महसुलको परिमाण वा अन्य कुनै पक्षउपर पछि कुनै आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसकेको भए पनि त्यसपछिका बिलमा समायोजन गर्दै जाने पत्रमा उल्लेख छ । साथै आयोगले यसबारेको प्रगति विवरण आवधिकरूपमा आयोगलाई जानकारी गराउन पनि प्राधिकरणलाई निर्देशन दिएको छ ।