वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालू आर्थिक वर्ष (आव)को १० महीनामा चारपाङ्ग्रे सवारीसाधनको आयात ह्वातै घटेको छ । चालू आवको वैशाखसम्म यो नाका हुँदै १ अर्ब ५३ करोड मूल्य पर्ने ७३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् ।
जबकि आव २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने रु २ अर्ब ७ करोड मूल्य पर्ने १ हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएका थिए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताउँछन् ।
इन्धनबाट चल्ने चारपाङ्ग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ । चालू आवको १० महीनामा इन्धनबाट चल्ने चारपाङ्ग्रे सवारीसाधनबाट रु ४ अर्ब ३ करोड राजस्व सङ्कलन भएको छ । तर गत आवको सोही अवधिमा भने रु ४ अर्ब ३९ करोड राजस्व सङ्कलन भएको थियो ।
चालू आवको १० महीनामा ट्रक, मिनीट्रकको आयात पनि खुम्चिएको छ । सो अवधिमा रु ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा भने रु २ अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनीट्रक आयात भएको थियो ।
चालू आवको १० महीनामा विद्युतीय जीप, कार र भ्यानको आयातमा पनि उच्च गिरावट देखिएको छ । सो अवधिमा रु ४२ करोड मूल्य पर्ने १७४ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । जबकि गत आवको १० महीनामा भने रु ९५ करोड मूल्यका ४४८ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको १० महीनाको अवधिमा २६ थरिका साना/ठूला सवारीसाधन गरेर रु १८ अर्ब ५२ करोड मूल्यका सवारीसाधन आयात भएका छन् । ती सवारीसाधन आयात हुँदा कार्यालयले भने रु १५ अर्ब २४ करोड राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आवको वैशाख मसान्तसम्मको अवधिमा रु १७ अर्ब ५ करोड मूल्यका २६ थरिका साना/ठूला सवारीसाधन आयात भएको जनाएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले रु १३ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो । रासस