त्रिवेणी । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौँ पठाइएको छ ।
गाउँका २८ घर परिवारले उत्पादन गरेको सो लसुन काठमाडौँ पठाइएको हो । वडा कार्यालयको सहजीकरणमा लसुन काठमाडौँ पठाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार चौरगाउँका खीमबहादुर ओलीले यस याममा सबैभन्दा बढी १३ क्वीन्टल ३० किलो लसुन विक्रीका लागि काठमाडौँ पठाउँदा सबैभन्दा थोरै रमेश ओलीले १ क्वीन्टल ४ किलो विक्री गरेका छन् । चौरगाउँमा उत्पादन भएको लसुन अझै विक्री गर्न बाँकी रहेको वडाध्यक्ष खड्काले जानकारी दिए । लसुनलाई तीन ग्रेड (ए, बी र सी) मा विभाजन गरेर विक्री गरिएको हो ।
किसानले ‘ए’ ग्रेड लसुनलाई प्रति किलो रु १२५, ‘बी’ ग्रेडलाई रु १०५ र ‘सी’ ग्रेडलाई प्रति किलो रु ६० मा विक्री गरेका छन् । अब क्रमशः वडाको खर्सुपानी, गलम्पाटी, नमूनाबस्ती र खड्का टोलमा उत्पादन भएको लसुन विक्री गर्ने तयारी वडाले गरेको छ । सो उत्पादन भएको लसुनबाट विक्रीबाट रु डेढ करोड भित्रिने वडा कार्यालयले अनुमान गरेको छ । हाल वडामा २५० किसानले व्यावसायिक लसुनखेती गर्दै आएका छन् । रासस