काठमाडौं । नेपाल वायुसेवा निगम लिमिटेड आर्थिक वर्ष (आव) २०८०/८१ मा सबैभन्दा धेरै घाटा व्यहोर्ने सार्वजनिक संस्थान बनेको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा प्रतिवेदन अनुसार सरकारको पूर्ण स्वामित्वमा सञ्चालित यस निगमले १ अर्ब ४ करोड रुपैयाँ घाटा व्यहोरेको छ ।
नेपाल वायुसेवा निगमसँगै नेपाल खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल धेरै घाटा व्यहोर्ने संस्थानमा पर्छन् । देशभर रहेका ४५ सार्वजनिक संस्थानमध्ये १५ ओटा घाटामा छन् । तर, यी पाँचओटाको कुल नोक्सान २ अर्ब ३१ करोड रुपैयाँ छ । वायुसेवा निगम एक्लैको अंश कुल घाटाको २८ दशमलव ८२ प्रतिशत रहेको प्रतिवेदमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा मात्र होइनन्, यी संस्थानहरू लामो समयदेखि घाटामा रहेका छन् । जसका कारण सञ्चित घाटा नै यी पाँचओटाको उच्च रहेको छ । निगमको मात्र सञ्चित घाटा १६ अर्ब ६८ करोड रुपैयाँ छ ।
सार्वजनिक सेवा प्रशारण नेपालको सञ्चित घाटा २ अर्ब ७० करोड रुपैयाँ छ । यी पाँचओटा संस्थाको कुल सञ्चित घाटा जम्मा सञ्चित घाटाको ६३ दशमलव ६३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्ने नेपाल वायुसेवा निगमको वित्तीय अवस्था जहाज खरीद ऋणको साँवा ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निरन्तर खस्कँदो रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल निरन्तर खुद नोक्सानमा छन् । यी संस्थानको वित्तीय अवस्था कमजोर हुनुका कारणहरूमा क्रमशः उच्च महसुल बक्यौता एवं कमजोर समन्वय, न्यून क्षमता उपयोग एवं उच्च प्रशासनिक खर्च तथा परिवर्तित मिडिया परिवेशमा प्रतिस्पर्धात्मकता गुमाउनु रहेका छन् ।
कमजोर बजारीकरण, मागभन्दा बढी उत्पादन र समग्र व्यवस्थापकीय कमजोरीका कारण दुग्ध विकास संस्थान वित्तीय रूपमा समस्याग्रस्त छ । ऋणको साँवा ब्याज भुक्तानीमा कठिनाइ र व्यावसायिक योजनाहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्नु जस्ता कारणले समग्र सार्वजनिक संस्थानको खुद तथा सञ्चित नोक्सान बढ्दै गएकाले वित्तीय जोखिम बढाएको प्रतिवेदनमा उल्लेख छ ।