‘विकासका लागि स्वास्थ्य अपरिहार्य’
अभियान संवाददाता
बैशाख ७, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले मुलुकको आर्थिक विकासका लागि स्वास्थ्य चेतना अपरिहार्य भएको बताएका छन् । स्वास्थ्यले व्यक्तिको सोचलाई सकारात्मक बनाउनुका साथै बौद्धिक क्षमतासमेत बढाउने हुँदा देश विकासका लागि स्वस्थ्य चेतना अभिवृद्धि गर्नु आवश्यक रहेको लामाले बताए । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेण्टरमा बिहीवारदेखि शुरू भएको चौथौ संस्करणको ‘हेल्थ एण्ड फिटनेश एक्स्पो’को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।
‘हाम्रो देशका नेताहरूमा स्वास्थ्य चेतनाको अभावकै कारण पनि उनीहरूको सोचाइ विकासमुखी हुन नसकेको हो,’ सदस्यसचिव लामाले भने, ‘मुलुक विकासका लागि आवश्यक सोच तथा बौद्धिक क्षमता वृद्धि गर्न नेताहरूले नियमित व्यायाम तथा स्वास्थवद्र्धक क्रियाकलाप गर्नुपर्छ ।’ त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रवीण मिश्रले नियमित तथा पर्याप्त शारीरिक व्यायाम नगर्दा व्यक्तिमा ‘नसर्ने रोगहरू’ उब्जने बताए । अहिले नेपालमा ४२ प्रतिशत सरुवा र ५२ प्रतिशत नसर्ने रोगको सङ्क्रमण रहेको जानकारी दिँदै सचिव मिश्रले त्यसलाई न्यूनीकरण गर्नका लागि व्यक्तिले नियमित तथा पर्याप्त शारीरिक व्यायाम गर्नुपर्ने बताए ।
हेल्थ एण्ड फिटनेश एक्स्पोले शारीरिक व्यायाम तथा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गराएर मुलुकमा रोगको सङ्क्रमण घटाउमा सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । सोही अवसरमा सदस्यसचिव लामा तथा सचिव मिश्रले संयुक्तरूपमा उक्त एक्स्पोको उद्घाटन गरेका थिए । एउटै छानामुनि स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीसम्बन्धी सेवाका साथै सामग्रीबारे जानकारी दिने उद्देश्यले आयोजित एक्स्पो तीन दिनसम्म चल्नेछ । मेलामा स्वास्थ्य परामर्श सेवा, निःशुल्क दन्त तथा स्वस्थ्य परीक्षण, फ्री जम्बो क्लास, इण्टर क्लब अरेबिक च्याम्पियनशीप, अक्वाजुम्वालगायत कार्यक्रमको आयोजना गरिने एक्स्पो संयोजक चित्र पौडेलले जानकारी दिए । मेलाको प्रमुख आकर्षणका रूपमा अक्वाजुम्वा (पानीमा गर्ने व्यायाम) रहेको छ । मेलामा अक्युपञ्चर सेवा, आयुर्वेदिक औषधि एवम् हस्पिटल, हर्वलका उत्पादन, स्वीमिङ क्लब, हेल्थ एण्ड फिटनेश लगायतका ६० ओटा स्टल छन् ।
डाइरेक्शन नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक्स्पोको आयोजना गरेको जानकारी दिँदै संस्थाका अध्यक्ष अनुजकुमार श्रेष्ठले मेला स्वास्थ्य, फिटनेश तथा यससम्बन्धी आवश्यक सामग्रीबारे जानकारी उपलब्ध गराउनेमा केन्द्रित रहने बताए । हिलटेक, डाबरको रियललगायतले प्रयोजन गरेको यस एक्स्पोमा ३० हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकको अनुमान छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.