काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ प्रतिशत हकप्रद शेयर वैशाख ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र खरीद गर्न पाउने भएका छन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको आधारमा २७ प्रतिशतले हुने १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गर्न बाँकी छ ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि भने कम्पनीले वैशाख ५ गते एक दिन बुक क्लोज गर्न लागेकाले वैशाख ४ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीद गर्न योग्य भएका हुन् ।
२७ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ कायम हुनेछ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम जीवन बीमा कम्पनीले कायम गर्नुपर्ने ५ अर्ब चुक्तापूँजीका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।