काठमाडौं । गर्भनर बन्ने हल्ला चलिरहेका बेला नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।
उनले शुक्रवार राजीनामा बुझाएको राष्ट्र बैंकका एक उपनिर्देशकले जानकारी दिए ।
राष्ट्र बैंकको गभर्नर पदका लागि पछिल्लो समय भट्टको चर्चा बढी छ । नेपाली कांग्रेसले भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएको बुझिएको छ ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटर कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टलाई गभर्नर बनाउनुपर्ने प्रस्ताव गरेको र यसमा ओली सहमत भएको बताइएको छ ।
गभर्नरका लागि भट्टसँगै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना, कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिना लगायतको नाम पनि चर्चामा छ ।
गभर्नरका बन्नका लागि नबिल बैंकका सीईओ ढुंगानाले केही दिनअघि पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने कायममुकायम गभर्नर ढुंगानालाई गभर्नर बनाउन चाहेको भएपनि कांग्रेस सभापति देउवाको दबाबले पछि हटेको बुझिएको छ ।
गभर्नर पद गत चैत २५ यता रिक्त छ । तत्कालीन गभर्नर महाप्रसाद अधिकारी सेवानिवृत्त भएपछि उक्त स्थानमा नयाँ नियुक्ति गर्न नसक्दा पद रिक्त भएको हो ।
सरकारले गभर्नर नियुक्तिका लागि समिति गठन गरे पनि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचकै हानथापले उक्त पदमा नियुक्ति हुन सकेको छैन ।
सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा पूर्वगभर्नरबाट विजयनाथ भट्टराई र विज्ञबाट विश्व पौडेल सदस्य रहेको सिफारिस समिति गठन गरेको छ । उक्त समितिले गभर्नर नियुक्तिको प्रक्रिया चलिरहेकाले छिट्टै नियुक्ति हुने बताएको छ ।
आगामी सोमवार बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्न सक्ने बुझिएको छ ।