वीरगञ्ज । विश्लेषक उमेशचन्द्र ठाकुरको ‘अर्थतन्त्रका आयाम’ प्रकाशित भएको छ । बिसं. २०३९ सालदेखि समसामयिक अर्थराजनीतिक सरोकारमा कलम चलाउँदै आएका ठाकुरको आलेख संग्रहको रुपमा सो पुस्तक बजारमा आएको हो ।
विगत एक दशकभन्दा लामो समयदेखि आर्थिक अभियान दैनिकमा प्रकाशित लेखहरूको सँगालोको रुपमा पुस्तक प्रकाशित भएको हो । आर्थिक अभियानमा प्रकाशितमध्ये सो पुस्तकमा ७६ ओटा आलेख संग्रहित छन् ।
पत्रकार ओमप्रकाश खनालले सो पुस्तकको संयोजन गरेका हुन् । पुस्तक आकारमा आएको ठाकुरको आलेख संग्रह वर्तमानबाट विगतलाई नियाल्ने आँखीझ्याल भएको खनालले बताए । विगतको समीक्षा गर्दै आगतलाई अँगाल्न यो पुस्तक सहयोगी हुने तर्क उनको छ ।
औद्योगिक प्रतिष्ठानहरूको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहेका ठाकुर निजीक्षेत्रका संघसंस्थाहरूमा पनि अनुभव प्राप्त छन् । श्रम सम्बन्ध र औद्योगिक शान्तिबारे विशेष दख्खल राख्ने ठाकुरका आलेखमा उद्योग, व्यापार, अर्थसामाजिक सरोकारका बारेमा सुक्ष्म विश्लेष पाइन्छ ।
औद्योगिक व्यवस्थापन, श्रम सम्बन्ध र सरोकारका अर्थसामाजिक दैनिकीबारेका विचारलाई पुस्तकको रुपमा ल्याएको र यसक्रममा सहयोग पुर्याउने सबैप्रति आफू आभारी रहेको ठाकुरले बताएका छन्