काठमाडौं । यो साताको पाँच कारोबार दिनमा चार कारोबार दिन बजार निरन्तर बढ्दा लगानीकर्ताको सम्पत्ति मूल्य अर्थात् कुल बजार पूँजीकरण १ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।
गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साताको अन्तिम दिन कुल बजार पूँजीकरण उल्लेख्य रकमले बढेको हो । नेप्सेका अनुसार गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ९३ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४४ खर्ब २ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ कायम भएको हो ।
गत साताभन्दा यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक २ दशमलव ५४ प्रतिशत बढेकाले कम्पनीको पूँजीकरणमा सकारात्मक प्रभाव परेको हो । चार दिन बजार बढ्दा यो साता नेप्से परिसूचक ६५ दशमलव ७३ अंक माथि उक्लिएको हो ।
गत साता २ हजार ५८८ दशमलव ६२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता बजार बन्द हुँदा २ हजार ६५४ दशमलव ३५ विन्दुमा कायम भएको हो । समग्र धितोपत्र कारोबार मापक नेप्सेसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स यो साता २ दशमलव ३३ प्रतिशत बढेको छ । सेन्सेटिभ इन्डेक्स ४४६ दशमलव ८१ विन्दुमा पुगेको हो ।
यो साता पाँच कारोबार दिनमा ३६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको ७ करोड १० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता चार कारोबार दिनमा २२ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको ४ करोड ४३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कुल कारोबार रकम १३ अर्ब ६७ करोड रुपैयाँले र कारोबार कित्ता १६ लाख १३ हजारभन्दा बढीले वृद्धि भएको हो ।
औसत कारोबार रकम १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता ३१ लाख १९ हजारभन्दा बढी भएको जानकारी समेत नेप्सेले दिएको छ । गत साता औसतमा ५ अर्ब ६० करोड १८ लाख रुपैयाँभन्दा बढीको ५६ लाख १ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ७ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको १ करोड ४२ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
बैंकिङ प्रणालीमा देखिएको तरलता विस्तारै धितोपत्र दोस्रो बजारमा प्रयोगमा आइरहेको अनुमान जानकारहरूले लगाएका छन् । साथै निक्षेपको ब्याजदर घटिरहेको अवस्थामा दोस्रो बजारमा सूचीकृत धेरै राम्रा कम्पनीको शेयर मूल्य न्यून रहेकाले पनि लगानीकर्ता बजारप्रति आकर्षित भएको अनुमान जानकारहरूको छ ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,654.35 | 2,588.62 | 65.73 | 2.54 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 446.81 | 436.62 | 10.19 | 2.33 |
कारोबार रकम (रू. हजारमा) | 36,078,736.08 | 22,407,408.24 | 13,671,327.84 | 61.01 |
कारोबार कित्ता | 71,083,474.00 | 44,387,338.00 | 26,696,136.00 | 60.14 |
औसत कारोबार रकम (रू. हजारमा) | 7,215,747.22 | 5,601,852.06 | 1,613,895.16 | 28.81 |
औसत कारोबार कित्ता | 14,216,694.80 | 11,096,834.50 | 3,119,860.30 | 28.11 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,402,766.69 | 4,293,748.30 | 109,018.39 | 2.54 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
अन्य समूहको परिसूचक सर्वाधिक ९.४० प्रतिशत बढ्यो
यो साता समग्र धितोपत्र मापक नेप्से परिसूचक बढेको अवस्थामा दुई समूहगत परिसूचक भने घटेका छन् । गत साताको तुलनामा यो साता वित्तको २ दशमलव ८५ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ६४ प्रतिशत घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
यो साता अन्य समूहको परिसूचक सर्वाधिक ९ दशमलव ४० प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधनको ५ दशमलव ३४ प्रतिशत, लगानीको ४ दशमलव ७८ प्रतिशत, जीवन बीमाको ३ दशमलव ९९ प्रतिशत, विकास बैंकको ३ दशमलव ३९, निर्जीवन बीमाको २ दशमलव ९४ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ७६ प्रतिशत, लघुवित्तको १ दशमलव ३४ प्रतिशत, जलविद्युतको १ प्रतिशत, व्यापारको शून्य दशमलव ९९ प्रतिशत र बैंकिङको शून्य दशमलव ३१ प्रतिशत परिसूचक बढेको हो ।
यो साता सर्वाधिक परिसूचक बढ्ने अन्य समूहमा ६ कम्पनी सूचीकृत छन् । नेपाल दूरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, नेपाल रिपब्लिक मिडिया, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनी छन् । यी कम्पनीहरूको शेयर मूल्य बढेकाले अन्य समूहको परिसूचकमा वृद्धि देखिएको हो ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
अन्य | 2,083.29 | 1,904.28 | 9.4 |
उत्पादन तथा प्रशोधन | 7,080.55 | 6,721.87 | 5.34 |
लगानी | 104.33 | 99.57 | 4.78 |
जीवन बीमा | 13,074.30 | 12,573.12 | 3.99 |
विकास बैंक | 5,560.96 | 5,378.55 | 3.39 |
निर्जीवन बीमा | 12,788.96 | 12,424.02 | 2.94 |
होटल तथा पर्यटन | 6,829.26 | 6,645.96 | 2.76 |
लघुवित्त | 4,903.00 | 4,838.26 | 1.34 |
जलविद्युत् | 3,706.62 | 3,669.77 | 1 |
व्यापार | 4,460.99 | 4,417.33 | 0.99 |
बैंकिङ्ग | 1,350.74 | 1,346.54 | 0.31 |
म्युचुअल फण्ड | 20.09 | 20.22 | -0.64 |
वित्त | 2,564.75 | 2,639.96 | -2.85 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।