काठमाडौं । १० आर्थिक वर्षमा सिटिजन्स बैंक इन्टरनेशनलले कुल १२० दशमलव ९४३ प्रतिशत लाभांश वितरण गरेको छ । कुल लाभांश मध्ये ८३ दशमलव ३४ प्रतिशत बोनस शेयर र ३७ दशमलव ६ प्रतिशत नगद लाभांश गरेर कुल १२० प्रतिशत लाभांश दिएको हो । गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट दिएको लाभांश भने साधारण सभाबाट पारित हुन बाँकी रहेको छ ।
गत आवको मुनाफाबाट बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभाको मिति तय गरेको छैन भने बुक क्लोज असोज २९ गते तय गरेको छ । यस आधारमा असोज २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
असोज २४ गतेदेखि २८ गतेसम्म दशैंको सार्वजनिक बिदा परेकाले असोज २३ गतेसम्मका लगानीकर्ता मात्र बुक क्लोजको मितिका आधारमा साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।
आर्थिक वर्ष २०७१/७२ देखि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शेयरधनीलाई निरन्तर लाभांश दिदै आएको छ । १० वर्षको टेडालाई हेर्दा पछिल्ला तीन आर्थिक वर्ष देखि बैंकको लाभांशदर घट्दै आएको छ । बैंकले अािर्थक वर्ष २०७८/७९ मा ९ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । त्यसपछि अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि बैंकले ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
दुई आर्थिक वर्षमा नगद लाभांश दिएको बैंकले यस वर्ष भने बोनस शेयर वितरण गर्न लागेको हो । धितोपत्रको दोस्रो बजारमा यस बैंकको शेयर प्रतिकित्ता रू. २३९ रहेको छ । बैंकको कुल सूचीकृत शेयर १४ करोड २० लाख ९ हजार ७४१ कित्ता रहेको छ । जसमध्ये सर्वसाधारण तर्फको ६ करोड ९४ लाख ७१ हजार १६५ कित्ता रहेको छ ।
गत आवको चौथो त्रैमाससम्ममा बैंकले रू. १ अर्ब ३४ करोड भन्दा बढी नाफा कमाएको थियो ।