काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले असार २२ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले अर्पण ब्यांक्वेट नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निणर्य गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै १५० प्रतिशत हकप्रद शेयर विक्रीको प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले उक्त हकप्रद शेयर विक्री गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ । जलविद्युत् कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपूर्व विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम कम्पनीले हकप्रद निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति लिएको हो ।
वार्षिक साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित गराएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन प्रक्रिया अघि बढाउनेछ । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्रालिले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत् आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न सञ्चालक समितिले गरेको सम्झौता अनुमोदनसमेत सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ३ गते एक दिन बुक क्लोज गर्न लागेको छ । यसको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् । हकप्रद प्रयोजनका लागि भने कम्पनीले बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्र बुक क्लोजको मिति तय गर्नेछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्